20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

नेपालगन्ज नाका भएर नेपाली उद्योगबाट प्लाई भारतका विभिन्न सहरमा निर्यात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २२, २०७९  

बाँकेको शिखर प्लाई उड उद्योगले नेपालगन्ज भन्सार नाका हुँदै पहिलोपटक प्लाई भारत निर्यात गर्न थालेको छ । सोमबार मात्र भारतका लागि पहिलो चरणमा करिब २८ टन प्लाई उद्योगबाट लोड गरेर पठाइएको थियो ।

बाँके ।

नेपालगन्ज भन्सारबाट प्लाई भारतका विभिन्न सहरमा निर्यात गरिन थालेको छ । प्लाई उद्योगमा देशभर ख्याती कमाएको नेपालगन्जको शिखर प्लाई उड उद्योगले प्लाई भारत निर्यात थालेको हो ।

पहिलो चरणमा करिब २८ टन प्लाई भारत निर्यातको लागि उद्योगबाट लोड गरेर पठाइएको शिखर प्लाई उद्योगका सञ्चालक चम्पालाल बोथराले जानकारी दिए ।‘शिखर प्लाई भारतका विभिन्न सहरमा निर्यात गर्ने योजना बनाएका छौं’ उनले भने, ‘सोही अन्तरर्गत पहिलो खेपमा सोमबार उत्तरप्रदेश महाराजगंजका लागि २८ टन प्लाई पठाइएका छौं ।’

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादनलाई निर्यातका लागि प्रोत्साहन गर्ने नीति लिएका कारण भारत निर्यात सम्भव भएको सञ्चालक बोथराले बताए । सरकारले नेपाली उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्ना उत्पादन निर्यात गरे निर्यातको करिब ८ प्रतिशतसम्म नगद अनुदान दिने नीति ल्याएको छ ।

सरकारले कार्यविधि बनाएर बजेटमा उल्लेख गरेको कुरा कार्यान्वयन गरेसँगै सिमेन्टपछि प्लाई समेत भारतका बजारमा निर्यात हुन थालेको हो । नेपाली कच्चा पदार्थबाट उत्पादन भएको प्लाई भारत निर्यात थालिएको उद्योगले जनाएको छ ।

‘छब्बिस वर्षअघि उद्योग खोल्दा हामीले देखेको सपना अहिले पूरा भयो’ आफ्नो उत्पादन भारत निर्यात गर्दा खुसी देखिएका उद्योगी बोथराले भने, ‘कृषक दाजुभाईहरुले लगाउनुभएको कच्चा पदार्थका कारण यो सम्भव भएको हो ।’ प्लाई उत्पादनका लागि नभई नहुने लिप्टीस जस्ता रुख लगाउन उद्योगी बोथराले अभियान नै सुरु गरेका थिए । अहिले तीनै रुखहरु प्लाईमा प्रयोग गर्न मिल्ने भएका छन् । कच्चा पदार्थको सहजताका कारण निर्यातको माहौल बनेको उद्योगी बोथरा बताउँछन् ।

‘विगतमा त्यस्तो कच्चा पदार्थ भारतबाट हामीले मगाउनुपथ्र्यो । कच्चा पदार्थमै करोडौं रुपैयाँ त्यता जान्थ्यो तर अहिले अवस्था ठिक बदलिएको छ’ उनले भने, ‘स्वदेशमै कच्चा पदार्थको उपलब्धताले हामी प्लाई भारत निर्यात गर्न सक्षम भएका हौं । यसले देशमा विदेशी मुद्राको बढोत्तरी र कच्चा पदार्थ उत्पादनमा लागेका कृषकलाई फाईदा गर्छ ।’

शिखर समूह अन्र्तगतको शिखर प्लाई उद्योग नेपालगन्जमा २०५२ सालमा स्थापना भएको थियो । अर्को प्लान्ट कोहलपुरको पार्वतीपुरमा सञ्चालनमा रहेको छ । मध्यप्रदेश र बनारसबाट समेत माग आएको बताउँदै उद्यागी बोथराले त्यहाँ पनि निर्यात गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २२, २०७९     1:54:05 PM  |