कात्तिक १६ गते यस्तो अवस्थामा मृत भेटिएकी राप्तीसोनारी गाउँपालिका–७ की अपसरुल खान (साकिरा)को उनका पति, जेठाजु, जेठानी, ससुरा र नन्दलगायतले कर्तव्य ज्यान गरी मारेको भन्दै दिइएको जाहेरी बाँके प्रहरीले दर्ता गरेन । मृतक खानका पिता मो. वाहव खान भन्छन्, ‘एसपी साबले तैले भन्दैमा मैले मुद्धा दर्ता गर्छु भन्दै हप्काउनु भो । कर्तव्य ज्यानमा जाहेरी दर्ता गर्न दिनुभएन । त्यसमाथि दुईजनाभन्दा बढीको नाममा किटानी गरेपछि पनि दर्ता गर्दिन भन्नुभयो ।’
वीरेन्द्र जैसी । नेपालगन्ज ।
शरीरभरी निलडाम र चोटहरुका निसान छन् । घाँटीमा पासो लगाएको अवस्थामा रहेको शव खाटमा बसेको जस्तो देखिन्छ । कानको नजिकै पनि चोटको निशान छ । मृतकका पिता भन्छन्, ‘अझ तलपट्टिको शरीरको त फोटो खिच्न मिलेन । अत्यन्त दर्दनाक अवस्थामा मेरो छोरीलाई मारेका छन् ।’
कात्तिक १६ गते यस्तो अवस्थामा मृत भेटिएकी राप्तीसोनारी गाउँपालिका–७ की अपसरुल खान (साकिरा)को उनका पति, जेठाजु, जेठानी, ससुरा र नन्दलगायतले कर्तव्य ज्यान गरी मारेको भन्दै दिइएको जाहेरी बाँके प्रहरीले दर्ता गरेन । मृतक खानका पिता मो. वाहव खान भन्छन्, ‘एसपी साबले तैले भन्दैमा मैले मुद्धा दर्ता गर्छु भन्दै हप्काउनु भो । कर्तव्य ज्यानमा जाहेरी दर्ता गर्न दिनुभएन । त्यसमाथि दुईजनाभन्दा बढीको नाममा किटानी गरेपछि पनि दर्ता गर्दिन भन्नुभयो ।’ अन्ततः उक्त मुद्धा आत्महत्या दुरुत्साहनमा दर्ता भएको छ । वाहव आफू बाध्य भएर आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरेको बताउँछन् ।
वाहव छोरीको शरीरमा निलडाम रहेको, छोरीले उनको मृत्यु भएको भन्ने थाहा भएको अघिल्लो साँझ मलाई मलाई पिटेका छन्, परेसानी छ भनेर रुँदै फोन गरेको, पासो लगाइएको अवस्थामा रहेको शव खाटमा बसेको अवस्थामा रहेको र कोठाको ढोका चुकुल लगाएको अवस्थामा पनि भित्र बाहिर गर्न सक्ने अवस्थामा रहेको लगायतका आधारमा उनको आत्महत्या नभै हत्या नै भएको दाबी गर्छन् ।
तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीमगर प्रहरीसँग भएका प्रमाणका आधारमा हत्या भन्दा दुरुत्साहनको आशंका देखिएकोले सोहीअनुसार मुद्धा दर्ता भएको बताउँछन् । उनले दवाब दिई मुद्धा अर्कैतिर मोड्न लगाइएको आरोप अस्वीकार गरे । ‘हामी कसैलाई दवाब दिँदैनौँ । दिएका पनि छैनौँ । अहिले दुरुत्साहनको जाहेरीबाट अनुसन्धान सुरु गर्दा पनि कर्तव्य ज्यान भएको प्रमाणित भएमा त्यहीअनुसार अदालतमा जान्छ । यसमा अन्यथा मान्नुपर्दैन ।’
उनले मिसन टुडेसँग भने । अपसरुलका पिता प्रहरीको यो तर्कमा विश्वास गर्दैनन् । ‘कर्तव्य ज्यान भएको हुनसक्ने पर्याप्त आधार हुँदाहुँदै अर्कैतिर जाहेरी गरेर पछि कर्तव्य ज्यानमा जानसक्छ भनेकोमा विश्वास छैन । यदि त्यसो हो भने अनुसन्धान कर्तव्य ज्यानकै जाहेरीबाट गरेको भए के जान्थ्यो ?,’ उनले प्रश्न गरे ।
‘दाइजो नल्याएको भन्दै हत्या गरियो’
नेपालगन्ज– ७ का वाहव खानकी माइली छोरी हुन्, अपसरुल । कक्षा १२ सम्म पढेकी अपसरुलको दुई वर्षअघि राप्तीसोनारी–७ का मेराज अलि शेषसँग मागी विवाह भएको थियो । वाहवका अनुसार विवाहमा तोकेर दाइजो नमागिएपनि करिब २५ लाख खर्च गरेर छोरीको बिहे गरिएको थियो । त्यतिबेला कसैले दाइजोको कुरा निकालेका थिएनन् ।
मेराज आफ्ना पिताको औषधी पसलमा काम गर्ने गरेका थिए । तर बिहे भएको एक वर्षपछिदेखि छोरीलाई दाइजोका नाममा दुःख दिन थालेको भन्ने उनले गाईगुईं सुनेका थिए । छोरीसँग सोध्दा उनले त्यस्तो केही नभएको बताउँदै आएकी थिइन् । ‘छोरीले परिवार नबिग्रियोस भन्ने डरले नभनेकी होली,’ नेपालगन्जमा छापाखाना सञ्चालन गर्दै आएका वाहवले भने, ‘तर उसलाई लामो समयदेखि टर्चर गरिँदै आएको रहेछ । त्यस्ती राम्री छोरीको उनीहरुले ज्यानै लगे ।’
छोरीको मृत्यु भएको थाहा भएको अघिल्लो साँझ फोन गर्दा उनले रुँदै आफूलाई निकै अप्ठ्यारो भएको बताएकी थिइन् । ‘म धेरै परेसान छु भनेर रुँदै थिई । हामीले भोली नै आउँछौँ नआत्तिउ भनेर सम्झाउँदा सम्झाउँदै पछाडिबाट कसैले गाली गरेको सुन्यौँ । ब्यालेन्स सकिएर फोन काटियो । अर्काे बिहानै त तिम्री छोरीले ढोका खोलेकी छैन भनेर फोन आयो,’ वाहवले घटना सुनाए । त्यसपछि छोरीको घर पुग्दा प्रहरी आइसकेको थियो । ढोका खोलियो । छोरी शंकास्पद अवस्थामा मृत फेला परिन् ।
शंकास्पद मृत्युमा प्रहरी सधैं विवादित
शंकास्पद मृत्युका घटना विशेषगरी झुण्डिएको अवस्थामा शव भेटिएका घटनामा प्रहरीले सहजै जाहेरी नलिएर विवादित बन्ने गरेको छ । कर्तव्य ज्यान भएको भन्दै मृतकका आफन्तले ल्याएर आएको जाहेरी दर्ता गर्न नमानेर प्रहरीले पीडितलाई थप पीडा दिने गरेको गुनासो बारम्बार आउने गरेको छ ।
जानकी गाउँपालिकाकी नन्कुनी धोबीको घटनामा पनि यस्तै विषयमा बाँके प्रहरी विवादित बनेको थियो । साथै केही हप्ताअघि जानकी गाउँपालिकाकी गाल्डी वर्माको मुद्दामा पनि प्रहरीले पहिले कर्तव्य ज्यानको किटानी जाहेरी दर्ता गर्न मानेको थिएन ।
मिसन टुडेले समाचार सम्प्रेष्ण गरेपछि करिब ३ दिन कुराएर अन्ततः कर्तव्य ज्यानमै जाहेरी दर्ता गरेको थियो । तर अहिलेसम्म उक्त जाहेरीमाथि प्रहरीले कुनै कारबाही गर्न सकेको छैन । गोल्डीको हत्या गरेको भन्दै किटानी जाहेरीमा नाम उल्लेखित उनका श्रीमान् घरमा नै रहेको भन्ने सूचना दिएकोमा प्रहरी पक्राउ गर्न नै नजाने गरेको गोल्डीका आफन्तहरु बताउँछन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी घर्तीमगर भने प्रहरीले हरेक जाहेरीलाई उत्तिकै गम्भीरतापूर्वक अनुुसन्धान गर्ने गरेको दाबी गर्छन् । उनी जाहेरीमा नाम उल्लेखित व्यक्तिहरु पक्राउ गर्न प्रहरी लागिरहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्