कोहलपुर ।
राप्तीसोनारी–२ का वडाध्यक्ष ज्ञानेन्द्र ओलीले विपन्न बालबालिकालाई सहयोग गरेका छन् । वडामा रहेका विपन्न बालबालिकाको उज्ज्वल भविष्यका लागि उनले शैक्षिक सामग्री सहयोग गरेका हुन् । वडाध्यक्षको रुपमा राज्यबाट प्राप्त हुने रकममार्फत आफूले वडाका बालबालिकालाई सहयोग गरेको उनले बताए ।
आफ्नो तलब भत्ताबाट सोही वडाका विपन्न बालबालिकालाई विद्यालय पोसाक र स्टेशनरी सहयोग गरिएको उनको भनाइ छ । वडा नम्बर २ मा रहेको नेपाल आधारभूत विद्यालय महेन्द्रपुरमा अध्ययन गरिरहेका विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यले हस्तान्तरण गरिएको उनले जनाए । वडाध्यक्ष ओलीले उक्त विद्यालयमा अध्ययन गरिरहेका १५ जना विपन्न बालबालिकालाई विद्यालयको पोसाक, आवश्यक कापी, कलमलगायतका स्टेशनरी सहयोग गरेका हुन ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत वडाध्यक्षमा निर्वाचित ओली राप्तीसोनारीमा युवा समाजसेवीका रुरुपमा परिचित छन् । उनी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा पनि वडा सदस्यमा निर्वाचित भएका थिए ।
त्यतिबेला पनि उनले सहयोग गर्दै आएका थिए । यसअघि पनि उनी विभिन्न व्यक्ति तथा सामुदायलाई आर्थिक सहयोग गर्दै आएका थिए । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले आफू वडाध्यक्ष भएपछि जनताका समस्या बुझ्ने अवसर पाएको बताए । अहिले पनि आफ्ना छोराछोरीलाई पठाउने इच्छा भए पनि आर्थिक अभावका कारण पढाउन नसक्ने अवस्थाका अभिभावक रहेको उनको भनाइ छ ।
जनप्रतिनिधि भएपछि विपन्नलाई औषधि उपचार, खाद्यान्न सहयोग गर्दै आएको बताए । उनले वडाका बालबालिका विद्यालय पोसाकको अभावमा विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर आफ्नो तलब भत्ताबाट पोसाक र स्टेशनरी वितरण गरिएको बताए ।
आफूले प्रत्येक तीन महिनामा सहयोग गर्दै आइरहेको ओलीले बताए । नेपाल आधारभूत विद्यालय महेन्द्रपुरमा अध्ययनरत विद्यार्थीहरुलाई २० हजार रूपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्