22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

श्रीमतीको हत्यापछि आत्महत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २१, २०७९  

दाङ ।

घोराहीमा श्रीमतीको हत्यापछि श्रीमान्ले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैँले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन् ।

चिकित्सकले शुक्रबार बिहान ८ बजेको समय दिएको थियो । बिहान फेरि अस्पताल नै जानुपर्ने भएकाले उनीहरू घर फर्किएनन् । उनीहरू घोराही–१५ स्थित निरूको फुपुको घरमा गएका थिए । बिहीबार बेलुकी खाना खाएपछि उनीहरू सुत्न गएका थिए । श्रीमती निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेका थिए ।

तर बिहान उनीहरू दुवैजना मृत फेला परेका हुन् । निरू एउटा कोठामा मृत फेला परेको र अर्को कोठामा नवीन झुण्डिएको अवस्थामा फेला परेको डिएसपी गौतमले जानकारी दिए । निरुको घाँटी थिचेर हत्या गरेपछि नवीनले अर्कै कोठामा गएर आत्महत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मितिः सोमवार, कार्तिक २१, २०७९     9:14:26 AM  |