21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

निर्वाचन २०७९: के चाहन्छन् मतदाता ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २०, २०७९  

यतिखेर जनता शिक्षा, रोजगारी, स्वास्थ्य र जीविकोपार्जनका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको महसुस गर्न र मुखर भएर बताउन थालेका छन् । यसका साथै उद्योग, व्यापार र पर्यटनका नीतिगत समस्याहरु समाधन हुनुपर्ने पनि मतदाताले बुझेका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज १२ निवासी अब्दुल अजिज खाँको घर नजिकै एक आधारभूत विद्यालय छ । अब्दुलका शब्दमा उक्त विद्यालयको भौतिक अवस्थादेखि पढाइको वातावरण नै दया लाग्दो अवस्थामा छ ।

उनी नजिकैको सरकारी विद्यालयमा पढाइ राम्रो नहुँदा अभिभावकले निजी स्कुल र टाढाका स्कुलमा पढाउन पठाउनुपरिरहेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रा लागि सबैभन्दा ठूलो कुरा शिक्षा हो । शिक्षामा सुधार भएन भने हामी सधैं पछाडि नै रहन्छौँ । तर सरकारी स्कुलको हालत सुध्रिँदै सुध्रिएन ।’ उनी स्थानीय जनप्रतिनिधिले यसमा कुनै सुधार गर्न नसकेकोले प्रदेश र संघमा चुनिने जनप्रतिनिधिमा यी समस्या समाधान गर्नसक्ने व्यक्तिलाई मत दिने मनस्थितिमा रहेको बताउँछन् ।

अब्दुलका लागि अर्काे जरुरी लागेको मुद्दा, रोजगारीको हो । पढेलेखेका युवाहरुले पनि रोजगारी नपाएर भौतारिइरहनु र विदेश पलायन हुनु सबैभन्दा ठूलो समस्या रहेको उनको बुझाइ छ । ‘युवाहरुलाई पनि क्षमता र सीपअनुसारको रोजगारी पनि हुनुप¥यो । रोजगारी भएपछि पो गरिबहरुको जीवनमा परिवर्तन आउँछ । विकास भनेर खाली बाटो घाटो मात्रैमा बजेट खन्याएर हुँदैन,’ उनले भने । अब आसन्न निर्वाचनमा शिक्षा र रोजगारीमा सुधार ल्याउनसक्ने व्यक्ति रोज्नुपर्ने उनी बताउँछन् ।

स्थानीय सीता चिडिमार पनि आफूहरुका लागि राम्रो विद्यालयको आवश्यता रहेको बताउँछिन् । ‘हाम्रो स्कुल राम्रो बनाइदिनुप¥यो । यहाँ त वर्षामा स्कुलमा पानी भरिएरभित्र जानै सकिँदैन । कोठा नै छैन । केटाकेटीलाई बाहिरै राखेर पढाउनुपर्छ,’ उनले अवस्था दर्शाइन् । सीता महिलाहरुका लागि सीप विकासका कार्यक्रम पनि हुनु आवश्यक रहेको बताउँछिन् । ‘यहाँ हामी महिला दिनभरि घरमा बसिराखेका हुन्छौँ । केही सीप आउँथ्यो त सिक्थ्यौँ । हामीलाई काम लाग्ने केही तालिम दिएर र राम्रो गर्न सक्नेहरुलाई साधन पनि दिनुपर्छ,’ उनले भनिन् ।

नेपालगन्ज–११ का मोहम्मद इशहाक हुसैनी वारसीलाई विद्युत्को समस्या सबैभन्दा पहिला समाधान गर्नुपर्ने विषय लागिरहेको छ । नेपालगन्जमा गर्मी मौसममा विद्युत्को अनियमितताको समस्या हरेक वर्ष दोहोरिन्छ । नेपालगन्ज आफैँमा औद्योगिक सहर भएकोले विद्युत् कटौतीका कारण उद्योगहरुमा हैरानीका साथै नागरिकहरु आक्रान्त हुने समस्या समाधान गर्न सके अब आउने जनप्रतिनिधिको ठूलो सफलता हुने उनको बुझाइ छ । उनी अब अहिलेकै जस्तो सोचाइले विकास हुन नसक्ने बताउँछन् । दीर्घकालीन योजनासहितको विकास गर्न सक्ने क्षमता भएको नेता छान्नका लागि आसन्न निर्वाचनलाई अवसरका रुपमा लिनुपर्ने उनको धारणा छ ।

नेपालगन्ज–८ निवासी घसियारा समुदायकी गुडिया केवट र नेपालगन्ज–२२ किंगरियनपुरकी सहिदुन निशा किंगरियालाई कहिलेकाहिँ राहतका नाममा चामल र दाल पाउँदा भने सरकार छ जस्तो लाग्छ । तर उनीहरुको गाउँको र उनीहरुको दैनिक समस्याहरु भने जस्ताका तस्तै छन् । सहिदुनको गाउँमा त घरहरुको अवस्था यस्तो छ कि उक्त टोल उपमहानगरपालिकाभित्र पर्छ भन्न पनि अप्ठ्यारो मान्नुपर्ने स्थिति छ । सहदिुन भन्छिन्, ‘हाम्रो गाउँ हेर्नुभयो, कस्तो बाक्लो घरहरु छ ।

बाटो नै निकाल्न सकिँदैन । माटोका घरहरु छन् । वर्षामा पानी पस्यो भने त कति गाह्रो भइहाल्छ । अहिले पो यस्तो देख्नुहुन्छ । वर्षामा गाउँ पस्न नै नसकिने हुन्छ । हिलैहिलो बाटो हुन्छ । धेरैको घरमा पानी खाने धारा छैन । शौचालयको पनि छैन । अब कुन नेताले हामीलाई घर र बाटो बनाइदिन्छ उसैलाई भोट दिने हो,’ उनले भनिन् ।

गुडिया केवटको परम्परागत पेसा घाँस काट्ने र बेच्ने हो । अब घाँस पनि पाइन छोड्यो । घाँस पाइने ठाउँमा घर बनिसके । पहिलेजस्तो सजिलै घाँस पनि पाइँदैन । उनलाई अब पेसाको विकल्प चाहिएको छ । अर्काेतिर उनका लागि छोराछोरी पढाउनु बोझिलो छ । ‘केटाकेटीलाई कापी कलम नै पु¥याउन सकिँदैन । उनीहरुका लागि पनि केही सहयोग हुनुपर्छ,’ गुडियाले भनिन् ।

यी त केही प्रतिनिधि आवाज मात्रै हुन् । यतिखेर जनताहरु शिक्षा, रोजगारी, स्वास्थ्य र जीविकोपार्जनका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको महसुस गर्न र मुखर भएर बताउन थालेका छन् । यसका साथै उद्योग, व्यापार र पर्यटनका नीतिगत समस्याहरु समाधन हुनुपर्ने पनि मतदाताले बुझेका छन् । यीनै समस्या समाधानका लागि निर्वाचनमा सक्षम र इमानदार नेतृत्व छान्नुपर्नेमा पनि दुईमत देखिन्न । मतदाताको यो चेतना कतिको बलियो हो भन्ने जान्न आसन्न निर्वाचनमा कस्तो व्यक्तिलाई चुन्छन्, त्यसपछि यकिन हुनेछ ।

प्रकाशित मितिः आइतवार, कार्तिक २०, २०७९     9:24:46 AM  |