22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

घोषणापत्रबिनै घरदैलोमा उम्मेवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १९, २०७९  

वीरेन्द्र जैसी । नेपालगन्ज ।

निर्वाचन आयोगले निर्वाचनका लागि घरदैलो र सभा, सम्मेलनका लागि मतदानभन्दा १७ दिन अघिदेखिको समय तोकेको छ । तर, उम्मेदवारहरुलाई हतार छ । उनीहरु मतदातासँग मत माग्न जुटिसकेका छन् । कतिपयले घरदैलो नै सुरु गरिसकेका छन् । तर उम्मेदवारहरुसँग मतदातासमक्ष एजेण्डा प्रस्तुत गर्ने घोषणापत्र छैन ।

नेपालगन्जका इशाक खान अहिलेसम्म कुनै उम्मेदवारको पनि जितिसकेपछि गर्ने कामको बारेमा जान्न नपाइएको बताउँछन् । उनीजस्तै बाँकेका मतदाताहरुसमक्ष उम्मेदवारहरु घोषणापत्रबिनै मत माग्न थालिसकेका छन् ।

नेपाली कांग्रेसले सबैभन्दा पहिले देशव्यापी घोषणापत्र सार्वजनिक गरेको थियो । कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाका अनुसार घोषणापत्र अझै जिल्लामा आइपुगेको छैन । जिल्लामा पनि स्थानीय समस्या र मुद्दा केन्द्रित घोषणापत्रको तयारी भइरहेको छ । अहिले भने उम्मेदवारहरु मौखिक प्रतिबद्धता जनाउँदै मत मागिरहेका छन् । ‘अब चाडै घोषणापत्र मतदातालाई उपलब्ध गराउने गरी तयारी गरिरहेका छौँ,’ कोइरालाले भने ।

नेकपा माओवादी केन्द्रले पनि केन्द्रमा घोषणापत्र सार्वजनिक गरिसकेको छ । तर उक्त घोषणापत्र जिल्लामै छाप्ने गरी तयारी भइरहेको बाँके क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार आइपी खरेल बताउँछन् । अहिले पार्टीका विभिन्न कमिटीहरुमा पुगेर निर्वाचन लक्षित कार्यक्रम भइरहेका उनले जानकारी दिए । ‘केन्द्रीय घोषणापत्र आइसकेको छ । अब जिल्लामा आवश्यकताअनुसार छापेर मतदातालाई वितरण गर्दै छौँ,’ खरेलले भने ।

नेकपा एमालेको केन्द्रीय घोषणापत्र मंगलबार सार्वजनिक भएको छ । तर जिल्लामा घोषणापत्र आइपुगेको छैन । बाँके क्षेत्र नम्बर ३(ख) मा एमालेका उम्मेदवार भीम ओली अहिले स्थानीय मुद्दासहितको प्रतिबद्धतापत्र जनतासमक्ष लिएर गइरहेको बताउँछन् । केन्द्रीय घोषणापत्र पनि केही दिनमै मतदातासमक्ष पुग्ने उनले बताए । ‘सबै घरदैलोसम्म त पुग्न नसकिएला । तर विभिन्न ठाउँमा भेला गर्दै घोषणापत्र बुझाउने छौँ,’ ओलीले भने ।

बाँके क्षेत्र नम्बर २ मा एमालेले प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार डा. धवलशमशेर राणालाई सघाइरहेको छ । राप्रपाले प्रदेशसभामा एमालेका उम्मेदवारलाई सघाइरहेको छ । राप्रपाका केन्द्रीय सहमहामन्त्री ऋिषिराज देवकोटा केन्द्रीय घोषणापत्र पनि आउन लागेको र स्थानीय स्तरमा पनि प्रतिबद्धतापत्रको तयारी गरिएको बताउँछन् । उनले भने, ‘अहिले हामीले यसअघि गरेका कामको फेहरिस्तसहितको पर्चा वितरण गरिरहेका छौँ । अब केन्द्रीय र स्थानीयस्तरको घोषणापत्रसहित मतदातासमक्ष जान्छौँ ।’

निवर्तमान मन्त्री एवम् बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईको पार्टीले जसपा पनि अहिलेसम्म घोषणापत्र सार्वजनिक गरेको छैन । जसपाका नेता राजन रानामगर भन्छन्, ‘घोषणापत्र अब केही दिनमै आउँछ ।’ जसपाले क्षेत्र नम्बर २ मा राई मन्त्री हुँदा सञ्चालित विभिन्न योजनाहरुको फेहरिस्तको प्रति मतदातालाई वितरण गरिरहेको छ ।

अन्य पार्टीहरुले पनि पार्टीको समग्र दृष्टिकोण र भिजनसहितको घोषणापत्र मतदातासमक्ष ल्याएका छैनन् । व्यक्तिगतरुपमा प्रतिबद्धतापत्र र स्थानीय मद्दा केन्द्रित प्रचाहरु वितरण गरिरहेका छन् । स्थानीय मुद्दाहरुका नाममा अधिकांश उम्मेदवारहरुले स्थानीय तहले गर्ने कामहरुलाई आफ्नो प्रतिबद्धतापत्रमा समेटेका छन् ।

सांसद पदको भूमिका नीति निर्माण गर्ने हो भन्ने बिर्सेर उनीहरुले भौतिक निर्माणका योजनाहरुलाई प्रतिबद्धतापत्रमा समेटेर मत मागिरहेका छन् । राजनीतिक विश्लेषक रुद तिमिल्सेना बाँकेका उम्मेदवारहरुसँग एजेण्डाको अभाव हुँदा मतदाताहरु उत्साहित हुने अवस्था निर्माण हुन नसकेको बताउँछन् । बाँकेका जल्दाबल्दा समस्याको दीर्घकालीन समाधानको उपायहरु कोही उम्मेदवारबाट सुन्न र पढ्न नपाइएको उनको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १९, २०७९     12:17:31 PM  |