कोहलपुरको राम जानकी गौशालामा नयाँ नेतृत्व



कोहलपुर ।

श्री राम जानकी गौशाला संरक्षण सम्वद्र्धन समितिको अध्यक्षमा ढकनाथ सापकोटा चयन भएका छन् । मंगलबार गोपाष्टमी (गोपुजन) को अवसरमा आयोजित कार्यक्रम तथा सातौँ साधारणसभाबाट सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

साधारणसभाले समितिको उपाध्यक्षमा भगवती बराल, सचिवमा केशव लम्साल, सहसचिवमा पुष्पराज कँडेल र कोषाध्यक्षमा भोलानाथ शर्मालाई सर्वसहमत चयन गरेको छ ।

यस्तै सदस्यमा गोविन्द्रप्रसाद ढकाल, पूर्णकला भण्डारी, ज्ञानेन्द्र खनाल, चन्द्रकान्त स्वाइँ, दुर्गाप्रसाद काफ्ले र लिलाकुमारी पाण्डे चयन भएको अध्यक्ष सापकोटाले बताए । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशकी पूर्वभूमि व्यवस्था एवम् कृषि तथा सहकारीमन्त्री आरती पौडेलले गौशालाले मानवीय कार्य गरिरहेको बताइन् । उनका अनुसार गौमाताहरुको संरक्षणका लागि स्थापना भएको गौशाला संस्थागत हुन आवश्यक छ ।

गौशालालाई व्यवस्थितरुपमा सञ्चालन गर्नसबै एकजुट भएर अघि बढ्नुपर्ने उनले बताइन् । ‘यो सबैको सहयोगमा सञ्चालन भइरहेको छ । यसलाई निरन्तरता दिन आवश्यक छ । आगामी दिनमा राम्रोसँग सञ्चालन गर्न सबैको सहयोग आवश्यक छ । व्यक्तिगतरुपमा म पनि परेको बेला सहयोग गर्न तयार छुँ,’ उनले भनिन् । उक्त अवसरमा बोल्दै समाजसेवी राजेन्द्र श्रेष्ठले संस्कृति संरक्षणका लागि सम्पूर्ण मानव समुदाय एकजुट हुनुपर्ने बताएका छन् ।

देश र धर्म सबैभन्दा माथि हुने भन्दै नराम्रा कुरा नअंगाल्न उनले आग्रह गरे । पछिल्लो समय कर्म र संस्कृतिमाथि विभिन्न हिसाबले प्रहार भइरहेको उनले बताए । धर्म बचाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो । यस्तै विश्व हिन्दु महासंघ बाँकेका अध्यक्ष भीमप्रसाद सापकोटाले गौमाताको सेवा गर्नु आमा बुवाको सेवा गर्नु सरह भएको बताए । उक्त अवसरमा गौशालामा रहेका गाईहरुको विधिपूर्वक पुजाआजा गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक १८ गते शुक्रबार