13 July 2024  |   शनिबार, असार ३०, २०८१

नेपालगन्जमा ५९ लाखमा बनेको सार्वजनिक शौचालय बिग्रियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १८, २०७९  

नेपालगन्ज ।

नेपालगन्जमा स्थानीय सरकारको पहिलो कार्यकालमा ठाउँठाउँमा शौचालयहरु निर्माण भए । चारवटा घुम्ती शौचालयहरु पनि सञ्चालनमा ल्याइए । तर अहिले पनि नगरमा सार्वजनिक शौचालयको समस्या उस्तै छ । निर्माण भएका शौचालयहरु लभालिङ्ग छन् । घुम्ती शौचालय कहाँ छन् पत्तो छैन ।

नेपालगन्जको धम्बोझीस्थित कृषि विकास बैंक अगाडि तीन वर्ष अघि निर्माण गरिएको अत्याधुनिक शौचालय सञ्चालनमा आएको ६ महिना नपुग्दै बन्द भयो । उक्त शौचालयमा संगीत बज्ने र स्वचालित पानी फ्लो हुने भनेर व्यापक प्रचार गरिएको उक्त शौचालय अहिले प्रयोगै गर्न नमिल्ने अवस्थामा पुगेको छ । शौचालय ठाँउठाँउमा भत्किएको छ । शौचालय देखेर आउनेहरु शौचालयको हालत देखेर निराश हुँदै फर्किन्छन् ।

करिब ५८ लाख खर्च उक्त शौचालय निर्माण गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाले यो शौचालय निर्माण गर्न जमिनका लागि अदालतमा मुद्दासमेत लडेको थियो । मुद्दा जितेर जमिन प्राप्त गरी निर्माण गरिएको शौचालय सञ्चालनमा ल्याउन उपमहानगरपालिकाले चासो नदिँदा जनताको कर खेर गएको छ ।

नेपालगन्जमा शौचालयको समस्या धम्बोझी चोकसँगै अन्य मुख्य चोकहरु पुष्पलाल चोक, वीपी चोक, न्युरोड, त्रिभुवन चोकलगायतका अन्य चोकहरुमा पनि छ । २०७५ सालमा खुला दिशामुक्त घोषणा गरिएको यस नगरमा शौचालय नहुँदा यहाँका ठेला व्यापारी, बाटो हिँड्ने बटुवालगायतले जहिँतहि दिशा, पिसाब गरिदिने गरेको स्थानीयको गुनासो छ ।

शौचालयको समस्या समाधान गर्ने भन्दै उपमहानगरपालिकाले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा ५९ लाखमा चार वटा घुम्ती शौचालय २०७५ मंसिरमा ल्याएको थियो । हाल ती शौचालय पनि अलपत्र परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई नयाँ शौचालय निर्माणसँगै पुराना जीर्ण शौचालयहरु मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने बताउँछन् । घुम्ती शौचालयमा महिलाहरु जान अप्ठ्यारो मान्ने गरेको पाइएको भन्दै उनले स्थायी शौचालय नै निर्माण गरिने बताए । ‘यस वर्षभित्र हामी सबै शौचालयहरु बनाइसक्छौँ,’ राईले भने ।

उपमहानगरपालिकाका अनुसार नेपालगन्ज बजारमा भेरी अस्पताल, जिल्ला सहकारी संघ, नगर भवन, रानी तलाउलगायतका ठाँउमा गरी करिब दुई दर्जन सार्वजनिक शौचालय छन् । तर तीमध्ये अधिकांश शौचालय सर्वसाधारणले प्रयोग गर्न मिल्ने अवस्थामा छैनन् ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १८, २०७९     12:14:29 PM  |