उम्मेदवारहरुको घरदैलो सुरु



नेपालगन्ज ।

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बुधबारबाट उम्मेदवारहरु घरदैलोमा जान थालेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिदेखि मात्रै घरदैलो गर्न पाउने तोके पनि धेरैजसो उम्मेदवारले पहिले नै घरदैलो गर्न सुरु गरिसकेका थिए । अब भने खुलेर घरदैलो र चुनावीसभा गर्न पाइने भएपछि दलहरुले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

बुधाबार नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ मा प्रचार प्रसार सुरु ग¥यो । पाँच दलीय गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न नेपाली कांग्रेसका नेता, कार्यकर्ता घरदैलोमा निस्केक छन् । क्षेत्र नम्बर २ अन्तर्गत रहेको डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतका वडामा पुगेर कांग्रेसका नेता, कार्यकर्ताले मत माग्न थालेका हुन् ।

बिहीबार डुडुवा गाउँपालिकाको बनकट्टीमा गरिएको घरदैलोमा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदीपनरसिंह राणा, प्रदेशसभा २ (क) का उम्मेदवार राजकुमार बर्मा, डुडुवा गाउँपालिका अध्यक्ष एवम् कांग्रेस नेता नरेन्द्रकुमार चौधरीसहितका नेता कार्यकर्ताहरु सहभागी थिए ।

उक्त घरदैलोका क्रममा नेताहरुले डुडुवा गाउँपालिका बजेटविहीन भएको मुद्दालाई उठाउँदै अरु पार्टीहरुप्रति आरोप लगाए । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का जनप्रतिनिधिका कारण डुडुवा गाउँपालिकाको गाउँसभा रोकिएको भन्दै ती पार्टीलाई आउँदो निर्वाचनमा मूल्यांकन गर्न उनीहरुले आग्रह गरे ।

यसैगरी बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका इश्तियाक राईको पार्टी जनता समाजवादी पार्टीले पनि घरदैलो सुरु गरेको छ । दोस्रो चरणको प्रचार अभियान बताइएको घरदैलो क्रममा भएको एक भेलामा बोल्दै राईले जसपाका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि मतदाताहरू निकै उत्साहित र आतुर देखिएको बताए । उनले आफूसँग विकासका एजेण्डाहरु रहेको बताउँदै पुनः विकासका योजनाहरू लिएर आउने बताए ।

यस्तै राप्रपा र नेपका एमालेको गठबन्धनले पनि बाँके क्षेत्र नम्बर २ मा घरदैलो अभियान सुरु गरेको छ । राप्रपा र नेपका एमालेका साझा उम्मेदवार डा. धवलशम्शेर राणा र प्रदेशसभा सदस्य निरज गुरुङसहितको टोलीले बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा ९ मा संयुक्त घरदैलो गरेका छ । उक्त अवसरमा राणाले अब भाषण गर्ने होइन काम गर्ने उमेदवार विजयी गराउन आग्रह गरे । यसैगरी अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि घरदैलोमा गएर मत माग्न सुरु गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक १८ गते शुक्रबार