17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

देउसीभैलोको रकम अग्नी पीडितलाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १६, २०७९  

कोहलपुर ।

देउसीभैलोबाट संकलित रकम आगलागी पीडितलाई राहत वितरण गरिएको छ । कोहलपुर–३ मा रहेको डाइनामिक युवा क्लबले विकास नगर टोलमा बस्दै आएकी आगलागी पीडित गीता परियारलाई राहत वितरण गरेको हो । केही दिन पहिले उक्त वडामा रहेको विकास नगर टोलका तुलबहादुर बुढाको घर विद्युत्को तार सर्ट हुँदा आगलागी भएको थियो ।

गीता उनकै घरमा भाडा बस्दै आएकी थिइन् । आगलागीबाट कोठामा भएका अन्नपात, सरसामान जलेर नष्ट भएका थिए । आगलागी हुँदा परियारलाई समस्या भएपछि सहयोग गरिएको क्लबकी सचिव कल्पना कार्कीले जनाइन् ।

‘क्लबको आयोजनामा देउसीभैलो खेल्दा जम्मा भएको रकमबाट सामान खरिद गरी सहयोग गरेका छौं,’ उनले भनिन्, ‘सोही सामग्री उहाँलाई हस्तान्तरण गरेका हौँ । चाडपर्वको बेला बेसहारालाई सहयोग गर्न पाउँदा एकदमै खुसी छौं ।’ अग्नीपीडितलाई करिब १० हजार बराबरको लत्ताकपडा र खाद्यान्न सहयोग गरेको उनले बताइन् ।

राहत वितरण कार्यक्रममा वडाध्यक्ष माधव रिजालसमेत सहभागी थिए । रिजालले नै पीडितको घरसम्म पुगेर राहत वितरण गरे । हस्तान्तरण कार्यक्रम बोल्दै रिजालले विपद्को समयमा युवाहरुले गरेको सहयोगको कदर गरे ।

चाडपर्वको अवसरमा युवाहरुले भैलो खेलेर संकलित रकमबाट राहत गर्नु उच्च सामाजिक कार्य भएको उनको भनाइ छ । ‘मेरोतर्फबाट सम्पूर्णलाई धन्यवाद दिन चाहन्छुँ । पीडितलाई राहत भएको छ । क्लबले पुण्य कार्य गरेको छ । आगामी दिनमा पनि यस्तै कार्य गर्दै जानु होला,’ उनले भने ।

डाइनामिक युवा क्लबका अध्यक्ष भुवन भट्टराईले समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनका अनुसार चाडपर्वको अवसरमा रमाइलोका लागि खेलिएको भैलोबाट संकलित रकमबाट सामग्री सहयोग गरिएको हो । पीडित परियारले आफ्नो दुःखमा क्लबले साथ दिएर राहत प्रदान गरेको भन्दै खुसी व्यक्त गरेकी छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक १६, २०७९     8:49:24 AM  |