बाँके ।
चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोहलपुरले कारबाही गर्न थालेको छ । चर्को आवाज निकालेर ध्वनि प्रदूषण गरेको गुनासो आएपछि प्रहरीले त्यस्ता मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले शनिबार मात्रै दुईवटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘स्थानीयको गुनासो आएपछि हामीले चर्को आवाज निकालेर चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाहीको अभियान चलाएका छौं,’ उनले मिसन टुडेसँग भने, ‘अहिलेसम्म दुईवटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं ।’
कोहलपुर प्रहरीले चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिन मातहतका प्रहरी कार्यालयलाई समेत निर्देशन दिइसकेको छ । ठूलो आवाज निकालेर चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिनको लागि रातको समयमा छुट्टै प्रहरी टोलीसमेत परिचालन हुने गरेको छ ।
‘कुनै पनि ब्राण्ड तथा सीसीलाई नभइ ठूलो ध्वनि निकाल्ने जुनसुकै बाइकलाई नियन्त्रणमा लिएर कारबाही हुन्छ,’ सडएसपी मल्लले भने, ‘अन्य मानिसलाई असर हुनेगरी बाइक मोडिफाई गरेरसमेत चलाउन पाइँदैन । बाइक मोडिफाई गरिदिने मर्मत सेन्टरलाई समेत कारबाही हुन्छ ।’ ठूलो ध्वनि निकाल्ने पल्सर, बुलेट, डुकाटीलगायतका जुनसुकै बाइक भए पनि नियन्त्रणमा लिइने कोहलपुर प्रहरीले जनाएको छ ।
‘बाइकलाई मोडिफाई गरी सामान्य ध्वनिभन्दा ठूलो ध्वनि निकाल्ने अथवा स्वतः ठूलो ध्वनि निकाल्ने बाइकलाई नियन्त्रणमा लिइरहेका छौं,’ डिएसपी मल्लले भने । चर्को आवाज निकाली गुड्ने मोटरसाइकलले विद्यार्थी, सर्वसाधारण नागरिकलाई सबैलाई असर गरेको भन्दै चौतर्फि गुनासो आएपछि कोहलपुर प्रहरी कडारुपमा एक्सनमा उत्रेको हो ।
ट्राफिक प्रहरीका अनुसार कतिपय मोटरसाइकल कम्पनीबाट आउँदै ठूलो आवाज निस्किने डिजाइनमा बनेका हुन्छन् । ती मोटरसाइकलहरु ‘रेसिङ’ र पहाडी क्षेत्रमा कुदाउनका लागि बनेका हुन् । यद्यपि, सहरी क्षेत्रमा समेत त्यस्ता मोटरसाइकलहरु कुदाइने गरिएको छ । त्यसरी ठूला आवाज निकाल्ने मोटरसाइकलमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली र आरएक्सलगायत छन् ।









प्रतिक्रिया दिनुहोस्