20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पाकिस्तानमा भेटियो संसारकै पुरानो बौद्ध मन्दिर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १२, २०७९  

काठमाडौं ।

संसारमा हजारौं बौद्ध मन्दिरहरु होलान् । तर हालै पाकिस्तानमा भेटिएको बौद्ध मन्दिर भने अहिलेसम्म भेटिएको सबैभन्दा पूरानो बौद्ध मन्दिर हो ।

उक्त बौद्ध मन्दिर उत्तरी पाकिस्तानको स्वात उपत्यकामा फेला परेको छ । उक्त इलाका प्राचीन गान्धार क्षेत्रको हिस्सा हो जुन क्षेत्रमा सिकन्दरले विजय प्राप्त गरेका थिए ।

पुरातत्वविद्हरुका अनुसार यो मन्दिर इशापूर्वको दोश्रो शताब्दीको मध्यतिरको हो । त्यसबेला गान्धारमा उत्तरी भारतको इण्डो युनानी साम्राज्यको शासन थियो । उक्त मन्दिरलाई पहिले नै बनेको बौद्ध मन्दिरको माथि बनाइएको थियो, जुन इशापूर्व तेश्रो शताब्दीमा बनेको थियो ।

यसबाट के थाहा हुन्छ भने मानिसहरुले बौद्ध धर्मका संस्थापक गौतम बुद्धको मृत्युको केही वर्षभित्रैमा सो पूरानो मन्दिर बनाएका रहेछन् । गौतम बुद्धको जन्म इशापूर्व ५६३ र मृत्यु इशापूर्व ४८३ मा भएको थियो ।

उक्त मन्दिर बारीकोट शहरको केन्द्रमा फेला परेको हो । मन्दिरको उत्खननबाट प्राप्त अवशेष १० फिटभन्दा धेरै छ । उक्त भग्नावशेषमा एक मञ्च पनि छ जसमाथि एक बेलनाकार संरचना छ । त्यसमा स्तुप आकारको बौद्ध स्मारक छ ।

उक्त मन्दिर परिसरमा एउटा सानो स्तूप, भिक्षुहरुका लागि एक कक्ष, एउटा सिँढी, एउटा स्मारक स्तम्भ, ठूलो कोठा र एक सार्वजनिक आँगन पनि छ ।

इटालीको भेनिसस्थित का फोस्करी विश्वविद्यालय तथा आईएसएईओका पुरातत्वविद् लुका मारिया ओलिभिएरीले पाकिस्तान तथा इटालीका सहयोगीहरुसँगै उक्त क्षेत्रमा उत्खनन गरेका थिए ।

रेडियो कार्वन डेटिङबाट उक्त ठाउँको सटिक समय पत्ता लाग्नेछ । यद्यपि बारिकोटको उक्त मन्दिर प्राचीन गान्धार क्षेत्रमा पाइएको सबैभन्दा पूरानो बौद्ध स्मारक मध्येको एक रहेको बताइएको छ ।

– एजेन्सी

प्रकाशित मितिः शनिबार, कार्तिक १२, २०७९     9:20:54 AM  |