17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

तीन दाजुभाइको छुट्टाछुट्टै फर्निचर उद्योगमा आगलागी, करिब १० करोडको क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ८, २०७९  

दाङ ।

जिल्लाको घोराही–१५ स्थित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट भएर आगलागी हुँदा करोडौँको क्षति भएको छ। न्यू दाजुभाइ फर्निचर, दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको थियो। तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ। गए राति करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ।

घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिए।

महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलीमिली बत्तीबाट आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलबासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए।

घटना विवरणसहित क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उनले बताए। आगलागीबाट प्रारम्भिक रूपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ।

‘लक्ष्मी पूजा सकिएपछि सबै सुतेको समयमा एक्कासि आगो लागेको देखियो, कोठाभरि समान थिए बाहिर निकाल्न नपाउँदै सबै आगोले खरानी भयो’, फर्निचर सञ्चालक रुपनारायण शर्माले भने।

यस्तै कामदारको पारिश्रमिक र छोराको फी तिर्न आफूसँग कोठामा राखेको नगद ७५ लाख र गल्ला बक्समा रहेको नगद पाँच लाख पनि जलेको उनले बताए।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ८, २०७९     10:01:14 AM  |