बाढी प्रभावितलाई राहत बाँड्दै जानकी



बाँके ।

बाढी प्रभावित भएका घरधुरीलाई बाँकेको जानकी गाउँपालिकाले राहत वितरण गर्न सुरु गरेको छ । वडास्तरबाट नै पीडितहरुको तथ्यांक संकलन गरेपछि गाउँपालिकाले राहत वितरण गर्न थालेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले आइतबारसम्म वडा नम्बर १, २ र ३ मा राहत वितरण गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाभरि आठ सय ९१ बाढी प्रभावित घरधुरी छन् ।

‘तथ्यांक संकलनपछि हामीले वडा नम्बर १ बाट क्रमशः राहत वितरण गरिरहेका छौं,’ उनले भने । गाउँपालिकाका अनुसार वडा नम्बर १ मा ४६, २ मा एक सय १९, ३ मा दुई सय ३३, ४ मा एक सय ११, ५ मा दुई सय र ५ मा एक सय ८२ घरधुरी बाढी प्रभावित रहेका छन् ।

राहतमा प्रतिघरधुरी २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन र एक लिटर खानेतेल दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिए । आठ सय ९१ बाढी प्रभावितमध्ये एक सय ८९ जना अति प्रभावितलाई एक/एक थान त्रिपालसमेत उपलब्ध गराइएको उनले बताए ।

असोजको तेस्रो साता परेको झरीपछि आएको बाढीले पालिकाका सबै वडामा भौतिक क्षति गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए । ‘दसैंको दिनदेखि परेको वर्षाले हाम्रो पालिकामा क्षति गरेको थियो,’ उनले भने, ‘तथ्यांक संकलन गरेपछि पीडितहरुलाई राहत दिइरहेका छौं ।’ तिहारअघि नै सबै वडाका पीडितहरुलाई राहत वितरण गरिसक्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष खाँले बताए । गाउँपालिका कार्यालयबाट नै राहत वितरण भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक ८ गते मंगलबार