सरकारी सवारीमा लागुऔषध ओसारपसार गर्ने कर्मचारीसहित दुई कोहलपुरबाट पक्राउ



बाँके ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध ओसारपसारमा प्रयोग भएको सरकारी सवारी साधनसहित दुईजनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित एक सरकारी कर्मचारीसहित कोहलपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । डिभिजन वन कार्यालय दाङका रेन्जर २८ वर्षीय किरण तिवारी र तुलसीपुर उपमहानगरपालिका–१८ का २७ वर्षीय भरत चौधरीलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

रेन्जर तिवारीसँगै रा१ब ८९९ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकलसमेत बरामद गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । ‘शनिबार साँझ लागुऔषध लिएर सरकारी नम्बर प्लेटको मोटरसाइकलमा दाङतर्फ केही व्यक्तिहरुको गइरहेको सूचना आएको थियो,’ उनले भने, ‘सोही सूचनाको आधारमा प्रहरी निरीक्षक नवचन्द्र मल्लको कमाण्डको खटिएको टोलीले दुवैजनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।’

डिएसपी मल्लका अनुसार नियन्त्रणमा लिएर खानतलासी गर्दा सरकारी मोटरसाइकलमा लुकाइछिपाइ राखेको अवस्थामा १४ ग्राम ६ सय १० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको थियो । उनीहरुले सरकारी मोटरसाइकलको शक र हेडको बीच भागमा लुकाएर लागुऔषध ब्राउनसुगर लिएर दाङ जाँदै थिए । सार्वजनिक बिदाका दिन शनिबार रेन्जर तिवारी सरकारी मोटरसाइकल लिएर लागुऔषध लिन बर्दियाको भारतीय सीमावर्ती क्षेत्र पुगेको अनुसन्धान खुलेको कोहलपुर प्रहरीले जनाएको छ ।

भारतीय व्यक्तिले उक्त ठूलो परिमाणको लागुऔषध ब्राउनसुगर रेन्जर तिवारीलाई बर्दियाको बलैगाउँ नाकासम्म पु¥याइदिएका थिए । ५५ हजार नेपाली रुपैयाँमा लागुऔषध खरिद गरेर दाङ जाँदै गर्दा कोहलपुर प्रहरीले राप्तीसोनारी गाउँपालिका–९ ढकेरीबाट उनीलाई नियन्त्रणमा लिएको थियो । रेन्जरसहित दुवैजना लागुऔषध ब्राउनसुगर कारोबारी रहेको अनुसन्धानबाट खुलेको कोहलपुर प्रहरीले जनाएको छ ।

‘नियन्त्रणमा लिइएको सरकारी बाइकमा नै प्राय दुवैजना लागुऔषध लिन बर्दिया जाने खुलेको छ,’ यसको अनुसन्धानमा खटिएको एक प्रहरीले भने, ‘शनिबार लिएर फर्किँदा ढकेरीबाट उनीहरु पक्राउ गरे । उनीहरु प्रयोगकर्ता नभएर आफैँ कारोबारी हुन् ।’

यस्तै कोहलपुरले बैजनाथ गाउँपालिका–१ चिसापानीबाट सात सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित सोही ठाउँका २२ वर्षीय सन्तोष शाही र २२ वर्षीय पदम बुढालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–२ विकासनगरबाट ९ सय ४० मिलिग्राम ब्राउनसुगरसहित २४ वर्षीय विजय भन्ने विरबहादुर विकलाई पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए ।

उनका अनुसार बैजनाथ गाउँपालिका–५ बनकटुवाबाट २६ वर्षीय मनिषथारुलाई सात सय ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो । पक्राउ परेका सबै जनामाथि लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक ८ गते मंगलबार