16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

प्रतिनिधि-प्रदेशसभा निर्वाचन–२०७९: आचारसंहिता उल्लंघन, सरोकारवाला निकाय मौन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ११, २०७९  

नेपालगन्ज ।

निर्वाचन आचारसंहिता २०७९ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशिन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने उल्लेख छ । जुलुश, आमसभा, कोणसभा गर्न, सञ्चार माध्यममा कुनै प्रकारको प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न र निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्न मतदानको १७ दिन अघिदेखिको समय निर्वाचन आयोगले तोकेको छ ।

तर, बाँकेमा आचारसंहितामा उल्लेखित यस व्यवस्थाको अवहेलना गर्दै अहिले नै राजनीतिक दल तथा उम्मेदवारहरुले घरदैलो गर्न सुरु गरिसकेका छन् । मतदाताको घरदैलो र खेतबारीमै पुगेर उम्मेदवारहरुले मत मागिरहेका तस्विर सामाजिक सञ्जालमा छरपष्ट छन् । यस अवस्थामा पनि बाँकेमा आचारसंहिता कार्यावयन गराउने निकायहरु मुकदर्शक बनेर बसेका छन् ।

निर्वाचन आचारसंहिताले राजनीतिक दल तथा उम्मेदवारहरुको निर्वाचन चिन्ह अंकित कुनै पनि पोसाकजन्य तथा स्टीकर उत्पादन, प्रयोग, विक्रीवितरण र प्रदर्शन गर्न नपाइने व्यवस्था गरेको छ । यसैगरी आचारसंहिताले निर्वाचन प्रचारप्रसार प्रयोजनका लागि ब्यानर र साइनबोर्डमा पनि कडाइ गरेको छ ।

सभाहरुमा बढीमा १० वटा ब्यानर र झण्डा प्रयोग गर्न पाइने भए पनि कार्यालयमा साइनबोर्डबाहेक अन्य कुनै स्थानमा चुनाव प्रचार गर्ने उद्देश्यले बोर्डहरु राख्न नपाइने व्यवस्था गरिएको छ । तर, विभिन्न ठाउँमा उम्मेदवारहरुका तस्विरसहितका प्रचार सामग्रीहरु राखिएको देखिन्छ । यसमा पनि कुनै कारबाही अघि बढाइएको छैन ।

केही दिनअघि खजुरा गाउँपालिका प्रमुख चढ्ने गाडी नै चुनाव लक्षित कार्यक्रममा प्रयोग भइरहेको फेला परेको थियो । सामाजिक सञ्जालमा त भ्र्रामक सामग्रीहरुको भरमार (मात्राभन्दा बढी, थुप्रै) छ । नेताहरुको बढाइचढाइ गरी बनाइएका पेजहरुमा मतदातालाई भ्रमित पार्ने सामग्रीहरु प्रकाशन, प्रसारण भइरहेका छन् । ती पेजहरु खुलेआम सन्चालन भइरहँदा कुनै कारबाही अगाडि बढाइएको देखिएको छैन ।
आचारसंहितामा जिल्ला निर्वाचन कार्यालयका प्रमुख आचारसंहिता अनुगमन अधिकृत रहने उल्लेख छ ।

तर, जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार बाँकेमा आचारसंहिता अनुगमन अधिकृत भनेर कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख खडानन्द अधिकारीलाई तोकिएको छ । अधिकारीसँग यस विषयमा जानकारी लिन खोज्दा उनको मोबाइल स्वीचअ अफ थियो ।

जिल्लामा आचारसंहिता अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति पनि रहेको छ । बाँकेमा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले यस विषयमा बुझ्न खोज्दा समय दिएनन् ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ११, २०७९     12:40:33 PM  |