17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुर प्रहरीको सुइप अप्रेसनमा ३९२ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ६, २०७९  

बाँके ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले रातको समयमा सुइप अप्रेसन चलाएर तीन सय ९२ जनालाई पक्राउ गरेको छ । चाडपर्व सुरक्षा योजनाअन्तर्गत रातको समयमा सुइप अप्रेसन चलाएर कोहलपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

हालसम्म सुइप अप्रेसनको क्रममा तीन सय ९२ बढी पक्राउ परिसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

‘चाडपर्वमा रातको समयमा हुनसक्ने चोरीलगायतका घटना रोक्नको लागि सुइप अप्रेसन चलाएका थियौं,’ उनले भने, ‘सोही क्रममा यति धेरैमा संख्यामा मानिसहरु पक्राउ परेका हुन् ।’

सुइप अप्रेसनका लागि प्रहरी निरीक्षकको कमाण्डमा रातको कोहलपुर क्षेत्रमा प्रहरी टोलीहरु परिचालन भइरहेका छन् । उक्त टोलीले शंका लागेमा चेकजाँच तथा खानतलासी गर्नेसमेत गरेको छ । पक्राउ पर्नेमा १८ महिला र तीन सय ७४ जना पुरुषहरु रहेको डिएसपी मल्लले मिसन टुडेलाई जानकारी दिए ।

‘रातको समयमा अनावश्यकरुपमा हिँड्डुल गर्नेलाई अप्रेसनमा खटिएको टोलीले पक्राउ गरेर कार्यालयमा ल्याउँछ,’ उनले भने, ‘पक्राउ परेकालाई आवश्यक सोधपुछ र अनुसन्धान गरेर अभिभावकको जिम्मा लगाउँछौं ।’ आवश्यक कामको लागि रातको समयमा आवतजावत गर्नेलाई पक्राउ नगरिने डिएसपी मल्लले बताए ।

‘कामका लागि रातको समयमा आवतजावत गर्नेलाई नियन्त्रणमा लिने गरेका छैनौं,’ उनले मिसन टुडेसँग भने, ‘कामबिनै हिँड्ने, मापसे गरेर हिँड्ने तथा सवारी चलाउने, चोरी गर्ने र अन्य अपराधिक कामका लागि हिँड्नेलाई नियन्त्रणमा लिइनेछ ।’ पक्राउ परेकामध्ये २४ जनालाई मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

तिहार र छठ नजिकिएसँगै कडाइ

नेपालीहरुका चाडपर्व तिहार र छठ नजिकिँदै जाँदा कोहलपुर प्रहरीले सुइप अप्रेसनलाई तीव्र पारेको छ । दसैंमा कडाइका साथ सुइप अप्रेसन चलाएको प्रहरीले तिहार र छठ पर्व नजिकिएसँगै कडाइ थालेको हो ।

दसैंको समयमा रातको अप्रेसन चलाउँदा चोरीलगायतका घटनामा कमी आएको बताउँदै कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले तिहार र छठ पर्व नजिकिएसँगै कडाइ गर्न थालिएको बताए । ‘दसैंपछि एक साता पानी परेकाले पनि अप्रेसन केही सुस्ताएको जस्तो देखिएको थियो,’ उनले भने, ‘मौसम सफा भएसँगै तिहार, छठ पर्वलाई ध्यानमा राखेर अप्रेसन चलाइराखेका छौं ।’

छड्के चेकिङको क्रममा युवाहरु घरेलु हात हतियारसहित पक्राउ पर्ने गरेका छन् । सहर बजारका विभिन्न चोक चौराहमा रातको समयमा युवाहरुको समूह अनावश्यकरुपमा भेला भएको भेटाए प्रहरीले नियन्त्रणमा लिनेछ ।

प्रकाशित मितिः आइतवार, कार्तिक ६, २०७९     8:33:14 AM  |