17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

पूरा भयो संसार हेर्ने र सुन्ने धोको

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ५, २०७९  

नेपालगन्ज (बाँके) ।

कोहलपुर–१४ स्थित हवल्दारपुरकी ६४ वर्षीया सनफुलिया चौधरीको उमेर ढल्किँदो छ । जतिजति उमेर ढल्किन्छ उतिउति नै उनको आँखा नदेख्न समस्या जटिल बन्दै थियो । दुई वर्षदेखि उज्यालो संसार हेर्न नसेकी उनी अहिले संसारलाई एकाएक नियाली रहेकी छिन् ।

कोहलपुर–१, कौशिलानगरका ४७ वर्षीय जर्मबहादुर बमको पनि सुन्दर आँखाले संसार हेर्ने आशा लगभग समाप्त भइसकेको थियो । उनले कानले सन्थ्ये अनि मनले देख्थ्ये । आँखामा मोतीबिन्दुको समस्याले गर्दा उनका लागि तीन वर्षदेखि संसार अन्धकार थियो । परिवार र आफन्तलाई स्वरको माध्यमले चिन्थ्ये । तर, आँखाको अप्रेसन भएपछि पुनः सुन्दर संसार हेर्ने उनको रहर पलाएको छ ।

भनिन्छ, ‘कसै न कसैमा तिम्रो सुन्दरता चिन्ने आँखा हुन्छ । कसै न कसैमा तिम्रो सत्यलाई सुन्ने कान हुन्छ ।’ तर, कोहलपुर–७ का ७९ वर्षीय अम्मरबहादुर गौतमले सत्यतालाई सुन्न सकेका थिएनन् । कान नसुन्ने समस्याले आँखाले नियाल्थ्ये र सत्यता पहिचान गथ्र्ये । तर, अहिले अवस्था उनको फरक छ । सुन्दरता र सत्यतालाई चिन्न र सुन्न सक्ने आँखाकान स्वस्थ छन् । यति मात्र होइन कोहलपुर नगरपालिकामा चार हजार एक सय ७५ जनाले आफ्नो आँखा नदेख्ने समस्या र कान नसुन्ने समस्याबाट छुटकारा पाएका छन् ।

‘मलाई लाग्थ्यो सुन्दर संसार अब कहिले देख्न पाउँला,’ सनफुलियाले भनिन्, ‘तर, नसोचेको सम्भव भयो ।’ उमेर ढल्किँदै गए पनि आँखाको ज्योति फिर्ता भएर आएको उनी बताउँछिन् । ‘अब त दुवै आँखा देख्ने भइयो, यसरी फेरि हेर्न सकिएला भन्ने लागेकै थिएन, यो मेरो जिन्दगीकै सबैभन्दा खुसीको दिन हो,’ उनले भनिन् ।

‘आँखाको शल्यक्रिया भएपछि पहिलाझै देख्न थालेको छुँ,’ जर्मबहादुरले भने, ‘फेरि संसार चिन्ने अवसर पाएको छुँ, निकै खुसी छुँ ।’ आर्थिक अभावका कारण उनले आँखा परीक्षण गर्न सकेका थिएनन् । ‘उपचार गराउन महँगो हुन्छ भनेर अस्पतालसम्म पुगेन्ँ,’ उनले भने, ‘गाउँमै सिविर आएपछि सजिलो भयो ।’

यहाँका असहाय, अपांगता भएका र विपन्न व्यक्तिलाई संसार हेर्ने आँखा र सुन्ने कान राम्रो बनाइ जीवन सहज बनाउने उद्देश्यले समाज सेवा संस्था बाँके कोहलपुरले आँखा र कान परीक्षण सिविर राखेको थियो । उक्त सिविरबाट कोहलपुरका असहाय, अपांगता भएका र विपन्न व्यक्ति लाभान्वित भएका छन् । सिविर भदौ ३१ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले जनाए । उनका अनुसार उक्त सिविर कोहलपुरका १५ वटै वडामा सञ्चालन गरिएको थियो ।

‘सिविरमा आँखाको जाँच दुई हजार ६ सय ९४ जनाको गरेका थियौं,’ उनले भने, ‘त्यसमध्ये तीन सय ७१ जनाको अप्रेसन भएको थियो ।’ उनका अनुसार एक हजार चार सय ८१ जनाको कान चेकजाँच भएको थियो । जसमध्ये एक सय २७ जनाको अप्रेसन गरिएको उनले जनाए ।

समाज सेवा संस्थाका अनुसार १ नम्बर वडामा एक सय ९५, २ नम्बरमा दुई सय ९५, ३ नम्बरमा तीन सय सात र ४ नम्बर वडामा एक सय ५२ जनाले आँखा तथा कान चेकजाँच गराएका छन् ।

त्यस्तै वडा नम्बर ५ मा चार सय २७, ६ मा दुई सय, ७ मा दुई सय ४७, ८ मा दुई ३६, ९ मा दुई सय १७, १० मा दुई सय २७, ११ मा चार सय ३६, १२ मा चार सय १५, १३ मा दुई सय ५६, १४ मा दुर्ई सय ५२ र १५ मा तीन सय १३ जनाको जाँच भएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक ५, २०७९     10:00:37 AM  |