बाँके ।
मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको हो ।
मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए । ‘मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् । भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ’ उनले भने ।
पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको थियो । बाँकी प्रदेश नं १ को मनसुन पनि आइतबार बाहिरिएको छ ।
अहिले नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भू–भाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्