विदेशमा अलपत्र परेकालाई सघाउँदै जानकी



नेपालगन्ज (बाँके) ।

वैदेशिक रोजगारका लागि विदेश गएका कामदारको करार अवधि समाप्त भएको, एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएकाहरुका लागि राहत तथा क्षतिपूर्तिका लागि जानकी गाउँपालिकाले सहजीकरण गर्ने भएको छ । जसको तथ्यांक संकलन गर्ने र आर्थिक सहायता वा क्षतिपूर्तिका लागि जानकीले वैदेशिक रोजगार वोर्डसँग समन्वय गर्ने भएको हो ।

रोजगारी नहुँदा यहाँका केही नागरिक विदेश जान बाध्य छन् । ‘केहीको मृत्यु भएको हुन सक्छ । केही अंगभंग वा गम्भीर बिरामी भएका होलान्,’ जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले भने, ‘समस्यामा परेका पालिकावासीलाई स्थानीय तहले अफ्ठ्यारोमा सहयोग गर्न खोजेको हो ।’ यसका लागि निवेदन संकलन भइरहेको उनले बताए ।

पालिकाको रोजगार सेवा केन्द्र र सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गर्न सकिने छ । समस्यामा परेकालाई पालिकाले राहत तथा क्षतिपूर्तिका लागि सहजीकरण गर्ने भएपछि यहाँका नागरिक खुसी भएका छन् ।

यसभन्दा अघि पनि पालिकामा आर्थिक सहायताका लागि सर्वसाधारणहरु आउने गरेका थिए । ‘केहीको करार अवधि सकिएको, मृत्यु भएको, अंगभंग भएका परिवारहरु आर्थिक सहयोगका लागि आउने गर्छन,’ प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने, ‘पालिकाबाट थोरै सहयोगले मात्र पीडित परिवारलाई अपुग हुने हुँदा केन्द्रसँग अब सहकार्य गर्न थालिएको हो ।’

‘पहिला सबैको तथ्यांक संकलन गर्छाैं,’ रोजगार सेवा केन्द्रका रोजगार सहायक साहिद खानले भने, ‘निवेदन संकलन भएपछि केन्द्रमा पठाउँछौं । आवश्यक सहजीकरण पनि गर्छाैं ।’ प्रक्रिया थाहा नपाउँदा र आर्थिक अभावले कतिपय नागरिक राहत तथा क्षतिपूर्तिका लागि काठमाडौंसम्म जान सकेका छैनन् । जसका लागि पालिकाको यो पहल सार्थक हुने विश्वास लिइएको छ ।

वैदेशिक रोजगार नियमावली २०६४ (पाँचौ संशोधन) मा व्यवस्था भएबमोजिम जानकीले सहजीकरण गर्न थालेको हो । वैदेशिक रोजगार वोर्डले सबै स्थानीय तहसँग समन्वय गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । ‘वैदेशिक रोजगार वोर्डले निर्णय गरेको छ,’ उनले भने, ‘पालिकासँग समन्वयन गर्ने भनेपछि हामीले पनि सहजीकरण गरिरहेका छौं ।’

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २ गते बुधबार