16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुर बसपार्कका व्यवसायी आफैँ हट्न थाले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर बसपार्कमा लामो समयदेखि व्यवसायी गर्दै आएका व्यवसाय आफैँ हट्न थालेका छन् । कोहलपुर नगर विकास समितिले सम्झौता नवीकरण नगर्नुका साथै बारम्बार हट्न दबाब दिन थालेपछि यहाँका व्यवसायीले स्वतःस्फुर्तरुपमा आफ्ना संरचना भत्काउन थालेका हुन् ।
पछिल्लोपटक नगर विकास समितिले असोज २८ गते संरचना खाली गराउन तीन दिने अल्टिमेटम दिएको थियो ।

नगर विकास समितिले यसअघि भदौमा पनि जबरजस्ती संरचना भत्काउन खोजे पनि व्यवसायीको अवरोध, सुरक्षा निकाय र राजनीतिक दलको असहयोगका कारण उक्त काम सफल हुन सकेको थिएन । संरचना भत्काउने कार्यमा असहयोग भए पनि कोहलपुर नगर विकास समितिका अध्यक्ष तथा नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिकाको सभा हलमा सर्वपक्षीय सर्वदलीय बैठक नै आह्वान गरेका थिए ।

दुईपटक बसेको बैठकले बसपार्क सुधार समितिको आग्रहअनुसार भदौ १५ गते असोज मसान्तसम्म व्यवसायीहरुले संरचना आफैँ खाली गर्न दिने निर्णय भएको थियो । सो समयमा व्यवसायीहरुले संरचना भत्काएनन् । निर्णय कार्यान्वयन नभएपछि नगर विकास समितिको आयोजनामा फेरि बैठक बसेर पहिलाको निर्णय कार्यान्वयन गर्ने विषयमा सरोकारवाला एकमत भएका थिए ।

त्यसपछि नगर विकास समितिले पुनः संरचना हटाउन सूचना प्रकाशन गरेको थियो । अहिले बसपार्कभित्रका संरचना यहाँका व्यवसायीले भत्काउन थालेका छन् । तर, मंगलबार बिहानैदेखि व्यवसायीले संचरना भत्काउन सुरु गरिसकेका थिए । तर, नगर विकास समितिले डोजर लगाउन खोजेपछि व्यवसायीहरुले अवरोध सिर्जना गरे । चर्को विरोधपछि डोजर फिर्ता भयो ।

त्यसपछि बसपार्क केही समय तनावग्रस्त बन्यो । व्यवसायीहरुले आफँै संरचना भत्काउन खोज्दा अटेरी गरेको भन्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यको विरोध गरेका गरेका थिए । आफूहरुलाई नगर विकास समिति बैकल्पिक व्यवस्था विना नै विचल्लीमा पारेको आरोप लगाएका थिए । वर्षौ व्यवसाय गरेको ठाउँ छोड्नु पर्दाको आक्रोश उनीहरुमा झल्किएको थियो ।

बसपार्क क्षेत्र खाली गरेर ‘कम्प्लेक्स’ स्थापना गरिने नगर विकास समितिका अध्यक्ष आचार्यले बताए । ‘कोहलपुर क्षेत्रमा कम्प्लेक्स छैन,’ उनले भने, ‘यहाँ खाली गराएर दुरुपयोग हुँदैन । यहाँ कम्प्लेक्स निर्माण हुन्छ ।’ साथै हाल बसपार्कमा व्यवसाय गरिरहेकामध्ये १३ जनालाई नगर विकास समितिले टहरा उपलब्ध गराउने बताइएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९     12:00:50 PM  |