नेपाली ग्राहकले खचाखच रुपैडिहा, बढ्यो महँगी



नेपालगन्ज (बाँके) ।

चाडपर्वका बेला हुने नेपालको महँगीको प्रभाव भारतीय सीमावर्ती बजार रुपैडिहामा पनि देखिएको छ । नेपाली ग्राहकले खचाखच हुने भारतीय सीमावर्ती बजार रुपैडिहामा पाँचदेखि ३५ प्रतिशतसम्म महँगी बढेको छ । नेपाली उपभोक्ताहरु सस्तो हुने लोभले भारतीय सीमावर्ती बजार रुपैडिहासम्म किनमेलका लागि जान्छन् ।

भारतीय सीमावर्ती बजार रुपैडिहामा महँगी बढ्दा नेपाली उपभोक्ताहरु मारमा परेका छन् । अहिले यहाँका व्यापारीले सबै सामानमा मूल्य वृद्धि गरेका छन् । पहिलाभन्दा दसैंतिहारको बेला महँगी बढेको भारतीय बजार रुपैडिहा पुगेकी कमला पुनले बताइन् । ‘किनमेलका लागि प्रायः रुपैडिहा पुग्छुँ,’ उनले भनिन्, ‘यसपालि महँगी बढेको रहेछ ।’

भारतीय बजार रुपैडिहामा महँगी बढ्दा पनि नेपाली उपभोक्ताको उस्तै घुइँचो छ । एउटा सामानमा पाँचदेखि पाँच सय रुपैयाँ वा त्यसभन्दा बढी मूल्य वृद्धिको महसुस भएको अर्की उपभोक्ता विमला खड्काले बताइन् ।

‘यसभन्दा पहिला ८०/९० रुपैयाँ जतिमा भाडा माझ्ने साबुन ल्याउँथ्ये,’ उनले भनिन्, ‘अहिले बढेर एक सय रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म पुगेको छ ।’ रुपैडिहामा महँगी भएको रहेछ भनेर कसलाई भन्ने भन्दै उनले भनिन्, ‘रुपैडिहामा महँगीसँगै गुणस्तरहिन सामान पाउन थालेको छ ।’

खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिकलगायतका सामानमा मूल्य वृद्धि भएको छ । अन्यको तुलनामा अझ बढी खाद्यान्नमा महँगी बढी छ । त्यसको असर सीधै नेपाली उपभोक्तालाई परेको छ ।

‘केही सस्तो पाइन्छ भनेर रुपैडिहा पुगेको थिएँ,’ दाङबाट साथीसहित पहिलोपटक रुपैडिहा पुगेकी कल्याणी केसीले भनिन्, ‘नेपाल र भारतको मूल्यमा त्यति फरक देखिएन । खाद्यान्नमा ४०/५० रुपैयाँ मात्र फरक जस्तो देखियो ।’

भारतीय बजारमा महँगी ह्वात्तै बढ्दा सबै सामान नल्याएको उनले बताइन् । ‘टाढाबाट आएपछि केही न केही त लिनै प¥यो,’ उनी भन्छिन्, ‘तर, सबै सामान किनेन्ँ । नेपालगन्जमा आएर किनेँ ।’

नेपालको प्रभाव नभइ आफूहरुलाई खरिद मूल्य नै बढीमा आउँदा सामान्य मूल्य वृद्धि भएको रुपैडिहाका व्यापारीहरुले बताएका छन् । उपभोक्तालाई असर नपर्ने गरी सामान्य मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ । ‘सामान्य मूल्य वृद्धि हो । यो महँगीले उपभोक्तालाई ठूलो प्रभाव पार्दैन,’ यहाँका व्यापारी रामशरण पटवाले भने, ‘सामान खरिदमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव उपभोक्तासम्म पुगेको हो ।’

रुपैडिहामा मृल्य वृद्धि हुँदा नेपाली व्यापारीले नेपाली उपभोक्तालाई पारि जान नदिन मूल्यमा हेरफेर गर्नुपर्ने उपभोक्ताको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २ गते बुधबार