हवाइ टिकट पाउन कर्णालीका नागरिकको हारगुहार



कोहलपुर ।

जुम्लाकी विष्णुमाया पाण्डे केही दिनयता नेपालगन्ज विमानस्थल धाइरहेकी छन् । १२ कक्षाको पुरक परीक्षाका लागि उनी छिटै जुम्ला पुग्नु पर्नेछ तर, टिकट भने अहिलेसम्म हातमा परेको छैन् । गाडीमा जानलाई विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध छ । उनी मात्र होइन, यतिबेला जुम्लालगायत कर्णालीका जिल्लामा जान हतार देखिने यात्रुले भरिभराउ छ । यात्रुको एउटै आशा छ, ‘टिकट पाइयोस् ।’

नेपालगन्जमा अलपत्र परेका धेरैजसो यात्रु विद्यार्थी छन् । टिकट नपाइँदा उनीहरुको परीक्षा अन्यौलमा छ । चिनेजाने पहुँच हुनेले टिकट समयमै पाएका छन्, भने नहुनेको त हरिबिजोग नै छ । अविरल वर्षाले कर्णाली राजमार्ग ठाउँठाउँमा भासिएर पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा हवाईमा मान्छेको चाप बढेको छ । यात्रुको चाप बढ्नु र पर्यटक बोक्न पूर्वतिर गएका सबै विमान कम्पनीले पश्चिममा पहिला जसरी उडान नगर्दा यात्रुहरु मर्कामा परेका छन् ।

विमानस्थलमा आउँदा टिकट पाउन हम्मेहम्मे भएको यात्रु मानबहादुर विकले बताए । ‘सडक अवरुद्ध भएको बेला नेपालगन्ज विमानस्थल तथा कर्णालीका जिल्लामा उडान भर्ने जहाजहरुले मनपरी गर्ने गरेका छन्,’ उनले भने, ‘यो भनेको कर्णालीका नागरिकलाई अपमान गर्नु हो ।’

नेपालगन्ज विमानस्थल प्रवेशद्वार रहेको र यस विमानस्थलबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पालगायतका जिल्लामा जहाजले उडान भर्दै आएका छन् । तर, कर्णालीमा नियमित उडान नहुँदा यात्रु मर्कामा परेका छन् । चिनेजाने र पहुँच हुनेले टिकट पाउने र सर्वसाधारणलाई टिकट पाउनै मुस्किल भएको उनले जनाए । हप्ता दिनसम्म टिकटका लागि धाउँदा टिकट नपाएको उनी बताउँछन् । टिकटको आसमा विमानस्थलमा भौतारिनु परेको यात्रुहरु बताउँछन् ।

जुम्ला तातोपानी गाउँपालिका–८ टोप्लाकी माया रावत कक्षा १२ को परीक्षा दिन गाउँ जानका लागि नेपालगन्ज विमानस्थालमा टिकटको लागि धाउन थालेको एक हप्ताभन्दा बढी भयो । परीक्षा दिने दिन नजिकै आउँदासम्म टिकट नपाएका कारण परीक्षा नै छुट्ने पो हो की भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ । उनी मात्र होइन, नेपालगन्ज विमानस्थलमा दर्जनौ विद्यार्थीको परीक्षा छुट्ने देखिन्छ । कर्णालीका जिल्लामा परीक्षा दिन जाने दर्जनौ विद्यार्थी यतिबेला नेपालगन्ज विमानस्थलमा अलपत्र परेका छन् ।

सडक नखुल्दा तथा उडान नियमित नहुँदा विद्यार्थीका लागि कठिनाइ त छँदैछ । साथै, विभिन्न जिल्लामा रहेका कर्मचारी सर्वसाधारण, व्यापारीलाई गृह जिल्ला फर्कनसमेत समस्या भएको छ । जहाजहरु कमाउ धन्दामा पोखरा, लुक्लालगायतका स्थानमा उडान भर्ने गरेका र कर्णालीका जिल्लामा तालिका सार्वजनिक नगरी उडान रोक्दा यात्रु मर्कामा परेका यात्रुहरुको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार