17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९  

बाँके ।

बाँके र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बिहीबार राति नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरमा परीक्षणकालीन (अनटेस्ट) मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक जानकी गाउँपालिका– १ का २५ वर्षीय राजेश यादव रहेका छन् । नेपालगन्जबाट घरतर्फ जाँदै गरेका यादवले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

यस्तै बर्दियाको गेरुवा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले संकलन गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे२त २०९ नम्बरको ट्याक्टरले खोनपुर गाउँमा स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नवीन ठकुरीको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, पाताभारका ईन्चार्ज प्रहरी निरीक्षक नीराजन सुनारले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९     10:11:08 AM  |