17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कैलालीमा थारु समुदायको ४२ प्रतिशत उम्मेदवारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९  

कैलाली ।

कैलालीमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि थारु समुदायबाट ४२ दशमलव ८४ प्रतिशत उम्मेदवार रहेको देखिएको छ । जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु समुदायबाट प्रतिनिधि सभामा १२, प्रदेश सभामा २२ गरी जम्मा ३४ जना चुनावी प्रतिस्पर्धामा छन् ।

धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले एक सय २६ जनाको उम्मेदवारी रहेको जानकारी दिए ।
जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि एक सय ४४ जनाले उम्मेदवारी दर्ता गराएकामा बुधबार १८ जनाले उम्मेदवारी फिर्ता गरिएपछि एक सय २६ जना चुनावी मैदानमा उत्रिएका हुन् ।

कैलालीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ४८ तथा प्रदेश सभामा ७८ जना उम्मेदवार छन् भने पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा थारु समुदायबाट तीन जनाले उम्मेदवारी दिएकामा नेपाली कांग्रेसबाट रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी र नेपालका लागि नेपाली पार्टीबाट मानबहादुर चौधरी छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेश चौधरी र नेपाल लोकतान्त्रिक पार्टीबाट देशराम चौधरीले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैगरी क्षेत्र नं ३ पनि नेकपा माओवादी केन्द्र (गठबन्धन)बाट कुमार चौधरी, नागरिक मुक्ति पार्टीबाट गंगाराम चौधरी र नेकपा (एमाले)बाट गौरीशंकर चौधरी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा नागरिक उन्मुक्ति पार्टीबाट कइया चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छिन् । कैलाली क्षेत्र नंं ५ मा थारु समुदायका दुई जना उम्मेदवार छन् ।

यहाँ एमालेबाट नारदमुनि राना र स्वतन्त्रबाट जगदीश चौधरीसहित बाह्र (१२) जनाको उम्मेदवारी परेको छ । त्यसैगरी १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रदेश सभाका लागि कैलाली क्षेत्र नं १ को प्रदेश सभा (क) मा पाँच, प्रदेश सभा (ख) मा चारजना थारु समुदायका प्रतिस्पर्धी छन् भने निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एक प्रदेश सभा (ख) मा दुई जना उम्मेदवार थारु समुदायबाट छन् ।

त्यसैगरी कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा तीन र प्रदेश सभा (ख) मा पनि तीन गरी छ जना थारु समुदायका उम्मेदवार निर्वाचनमा होमिएका छन् । निर्वाचन क्षेत्र नं. ४ प्रदेश सभा (क) मा एक र निर्वाचन क्षेत्र नं ५ बाट प्रदेश सभा (क) मा दुई र प्रदेश (ख) मा एक जना थारु समुदायका प्रदेश सभा सदस्य उम्मेदवार छन् । कैलालीको पाँच क्षेत्रबाट विभिन्न दल तथा पार्टी र स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि ४८ जना उम्मेदवार छन् ।

 

प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९     10:05:14 AM  |