17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाढीपीडितलाई राहत वितरण गर्दै कोहलपुर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९  

कोहलपुर ।

लगातारको वर्षाका कारण कोहलपुरमा भएको क्षतिको विवरण संकलन गरिएको छ । नगरपालिकाले पालिकाका १५ वटै वडामा क्षतिको विवरण संकलन गरेको हो । वर्षापीडितहरुको तथ्यांक संकलन गरेर विभिन्न वडामा राहत वितरण सुरु गरेको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

शाखाका प्रमुख सुभाष पौडेलका अनुसार कोहलपुर नगरपालिकामा ५३ जनालाई राहत वितरण गर्न तयारी भएको छ । अहिलेसम्म विभिन्न १९ जनालाई राहत वितरण गरिएको उनले बताए । प्रमुख पौडेलले अहिलेसम्म वडा नम्बर २, ३, ४, ५ र ६ मा राहत वितरण गरिएको बताए । बाँकी वडामा निरन्तर राहत वितरण हुने उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाकी उप्रप्रमुख संगीता सुवेदीका अनुसार वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गरेर राहत वितरण सुरु गरिएको हो । ‘वर्षाले धेरै क्षति भएको छ । जनताको समाधान गर्नका लागि हामी लागि परेका छौँ । विभिन्न वडामा राहत वितरण सुरु भएको छ । केही दिनमा सम्पूर्ण वडामा राहत वितरण गर्छौं,’ उनले भनिन् ।

वर्षाका कारण प्रभावित भएकालाई घरमै पुगेर राहत वितरण गरिरहेको कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले जनाए । उनले भने, ‘पहिलो चरणमा पूर्ण क्षति भएकाहरुलाई राहत वितरण गरिरहेका छौं । दोस्रो चरणमा आंशिक क्षति पुगेकालाई वितरण गर्नेछौँ । पीडितहरु नछुटुन भन्ने हाम्रो उद्देश्य हो ।’

कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष लालबहादुर रानाका अनुसार विपद्को बेला जनतालाई मल्हम लगाउन नगरपालिका सक्रियरुपमा लागि परेको छ । उनले वडा नम्बर ८ का जनताको सेवाका लागि आफू सदैव तत्पर रहेको बताए ।

विपद् व्यवस्थापन समितिको बैठक बसेर सम्पूर्ण नागरिकको सुरक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न भएको निर्देशनअनुसार आफूहरुलाई जनताको घरदैलोमा गएर राहत वितरण गरिरहेको उनले बताए । पहिलो चरणमा प्रतिपरिवार चामल र पाँच केजी दाल तथा त्रिपाल राहत वितरण गरिएको कोहलपुर नगरपालिकाअन्तर्गत विपद् व्यवस्थापन तथा वातावरण शाखाले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९     8:16:11 AM  |