गाउँ केन्द्रित चुनावी अभियानमा दलहरु



नेपालगन्ज (बाँके) ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि बाँकेका दलहरु र नेता तथा कार्यकर्ता उम्मेदवारसहित चुनावी अभियानमा जुटेका छन् । चुनाव आफ्नो पक्षमा पार्नका लागि दलका उम्मेदवार तथा कार्यकर्ताहरु विभिन्न चुनावी कार्यक्रममा जुटेका छन् ।

बाँकेमा नेपाली कांग्रेस, नकेपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा मिलेर बनेको बाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी तालमेल गरेर र जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

यतिबेला दलहरु गाउँगाउँमा कार्यक्रमका लागि गाउँ केन्द्रित हुन थालेका छन् । जसमा प्रशिक्षणदेखि भेलासम्मका कार्यक्रमहरु गर्ने तय गरेका छन् । अहिले गाउँ केन्द्रित कार्यक्रमलाई जोड दिइएको नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सूर्यप्रसाद ढकालले जनाए । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्जसमेत रहेका उनले भने, ‘एमाले अहिले मतदाताको घरदैलोमा छ । नागरिकका आवश्यकता र समस्याका विषयमा साक्षातकार गरिरहको छ ।’

‘गठबन्धनका उम्मेदवारहरुलाई जिताउन गाउँ तथा टोलकेन्द्रित कार्यक्रमको आयोजना गरिएको छ,’ नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसीले भने, ‘अहिले हामीले टोलटोलमा भेला र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएका छौं ।’ गठबन्धनका उम्मेदवारलाई विजय बनाउन अहिले चुनावी अभियानमा कांग्रेस लागेको उनी बताउँछन् ।

‘टिकट नपाउँदासम्म हिजोका दिन असहमति थिए,’ उनले भने, ‘गठबन्धनमा सिट बाँडफाँट भएपछि अहिले गठबन्धन दलहरु मिलेर चुनावी कार्यक्रममा छौं । अहिले गठबन्धनका दलहरुबीच कुनै तिक्तता नभएको उनको भनाइ छ । मंसिर ४ गते हुने निर्वाचन केन्द्रीत प्रचारका कामलाई व्यवस्थितरुपले सञ्चालन भइरहेको दलहरुले जनाएका छन् ।

ठूला दलसँगै साना दलहरु पनि यतिबेला गाउँ केन्द्रित भएका छन् । उनीहरुले संगठन विस्तारलाई समेत अगाडि बढाएका छन् । स्वतन्त्र उम्मेदवार पनि जनताको दैलोसम्म पुगेका छन् । स्वतन्त्र उम्मेदवारलाई यतिबेला आफ्नो चुनावी चिन्ह स्थापित गर्न पनि घरदैलो गर्नैपर्ने बाध्यता छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतबार