बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेमा वर्षाका कारण प्रभावित बस्तीहरुमा विभिन्नखालका स्वास्थ्य समस्या देखिन थालेका छन् । लगातार परेको वर्षाका कारण प्रभावित भएका क्षेत्रहरुमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी देखिन थालेका हुन् । बेमौसमी वर्षाका कारण बाँकेका आठवटै पालिका प्रभावित भएका थिए । नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकासहित नेपालगन्ज र कोहलपुरलगायत पालिकाका नागरिक डुबानमा परेका बस्तीमा यस्तो समस्या देखिन थालेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले असोजमा तुलनात्मकरुपमा गर्मी हुने भए पनि लगातारको वर्षाका कारण चिसो भएको र फेरि गर्मी बढेका कारण बस्तीहरुमा यस्तो समस्या देखिन थालेको छ । त्यस्ता समस्या भएका सम्बन्धित पालिकाका स्वास्थ्य चौकीहरुमा सबैभन्दा धेरै ज्वरोको समस्या लिएर आउने गरेको रिर्पोट प्राप्त भएको कार्यालयले जनाएको हो । यस्तै नेपालगन्ज र कोहलपुरमा रहेका अस्पतालमा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी आउने क्रम अत्यधिक बढेको पाइएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. श्याम विकका अनुसार यस्तो समस्या दीर्घरोग भएका महिला र पुरुष, बालबालिका तथा वृद्धवृद्धामा देखिएको छ । उनले मेडिकलसहित कोहलपुरका निजी मेडिकल हलहरुमा समेत बिरामीको चाप बढेको बताए । यतिमात्रै होइन पछिल्लो समय अस्पतालहरुमा डेंगुको प्रकोप बढेपछि भाइरल ज्वरो आएकाहरू डेंगुप्रति झन् त्रसित बन्न थालेका छन् । अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तसमेत बिरामी बढ्न थालेको बताउँछन् ।

कञ्चनपुरबाट कोहलपुरमा उपचारका लागि आएका दलबहादुर बुढा भन्छन्, ‘हामी आएको एक साता हुन लाग्यो । केहीदिन यता बिरामीहरुको चाप बढिरहेको छ । सबै हामी जस्तै पीडित रहेछन् ।’ ज्वरो आउनसाथ डेंगु परीक्षण गराउनेहरू बढेको पाइएको छ । भाइरलबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको विभिन्न अस्पतालले जनाएका छन् ।

चिकित्सहरुका अनुसार बिरामीहरुमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले दैनिक दुई सयदेखि तीन सयजनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको बताए ।

मौसम परिवर्तन, दूषित पानी, सरसफाइ र खानपानमा उचित ध्यान नपु¥याउँदा भाइरल ज्वरोका बिरामी बढेको दाबी चिकित्सकहरूको छ । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने भए पनि डेंगुप्रति सचेत रहनुपर्ने सुझाव चिकित्सकहरूको छ । उनका अनुसार बालबालिका र वृद्धवृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेको छ । मौसम परिवर्तन हुने समय भएकाले खानपिनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतबार