बर्दिया ।
कर्णाली नदीमा पानीकाे बहाव बढेपछि बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बाढी पसेका छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले सो क्षेत्रका सयौं घरहरु डुवानमा परेका छन् ।
कर्णाली नदीको बाढीले बर्दियाको राजापुर नगरपालिकाको वडा नं. १, ३, ४, ६ का विभिन्न गाउँहरुका करिब ८सय बढी घर प्रभावित भएको प्रारम्मिक तथ्यांक आएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । कर्णाली नदीमा रहेको पानीको सतहले खतराभन्दा माथि १२ मिटर पुगेपछि सो क्षेत्रमा गएरातीदेखि बाढी पसेको स्थानीवासी लोकराज ढुंगाना बताए ।
यस्तै गेरुवा गाउँपालिकाको वडा नं. १,२ र ३ का गाउँमा पानी पसेको छ । पुर्व जानकारी गराएको कारणले धेरै धनजनको क्षती हुन नपाएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बताए । क्षतीको विवरण र प्रभावितहरु विवरण संकलन कार्य जारी रहेको उनले बताए ।
कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको ड्यामसहितको तटबन्ध माथिबाट पानी छल्किएर गाउँतर्फ पसेको स्थानीयबासीहरुले जनाएका छन् । बाढी प्रभावित क्षेत्रमा अहिले उद्दारको कार्य भइरहेको छ ।
बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारेर राखिएको छ । बाढी प्रभावितहरुको तथ्यांक संकलन र प्रभावितहरुको विवरण संकलन गर्ने कार्य भइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।









प्रतिक्रिया दिनुहोस्