17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाँके– २ मा दुई मन्त्रीसहित ३९ जना उम्मेदवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २४, २०७९  

नेपालगन्ज ।

बाँकेको क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेशसभाका लागि ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा १५, प्रदेशमा (क) मा १२ र (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नेता तथा संघ सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका मोहम्मद ईश्तियाक राई, राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशम्शेर राणा, नेपाली कांग्रेसका नेता सुदीपनरसिंह राणा, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । मन्त्री राईले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । सत्तारुढ दलसँग गठबन्धन तोडेपछि जसपाले क्षेत्र नम्बर २ मा एकल उम्मेदवारी दिएको हो । यस्तै राप्रपाका महामन्त्री डा. राणालाई नेकपा एमालेले समर्थन गरेको छ । खनालले आफूलाई शिवसेनालगायत हिन्दूवादी संघ, संगठनको प्रतिनिधिका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

यसैगरी प्रदेशसभा २ (क) मा नेपाली कांग्रेसका राजकुमार बर्मा, नेकपा एमालेका विजय यादव, जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल यादव, स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा २ (ख) मा नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्रबहादुर हमाल, नेकपा एमालेका निरक गुरुङ, जनता समाजवादी पार्टीबाट आदेश अग्रवाल, नेकपा माओवादी केन्द्रका अकलबहादुर बम, स्वतन्त्र उम्मेदवार डा. विनोद कर्णलगायतले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले जानकारी दिए ।

 

प्रकाशित मितिः सोमवार, अशोज २४, २०७९     2:17:53 PM  |