बाँके– १ मा मन्त्रीसहित २८ जना उम्मेदवार



नेपालगन्ज ।

बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधि र प्रदेशसभामा गरी २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ६ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभामा एकजना स्वतन्त्रसहित ११ जना, प्रदेश १(क)मा चारजना स्वतन्त्रसहित १० जना, प्रदेश १(ख)मा एकजना स्वतन्त्रसहित सातजनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत यमप्रसाद बास्कोटाले जानकारी दिए ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट सूर्यप्रसाद ढकाल, सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका महेश्वरजंग गहतराज ‘अथक’, नेपाली कांग्रेस विपीका तर्फबाट कुन्ति शर्मा, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाही, जनता समाजवादी पार्टीबाट रामकुमार यादव र नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अथक हाल संघ सरकारमा युवा तथा खेलकुदमन्त्री छन् ।

यसैगरी प्रदेश सभा–१ (क) मा गठबन्धनबाट माओवादीका कृष्णा केसी (नमुना), नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नरेन्द्रकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा १ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी, सत्तारुढ गठबन्धनबाट कांग्रेसका फुलाराम थारु, राष्ट्रिय जनमुक्ति पार्टीका गगनबहादुर थापा र नेपाल मजदुर किसान पार्टीका हिराबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ मा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उक्त क्षेत्रको प्रतिनिधि र प्रदेशसभा–१ (क) मा नेकपा माओवादीको भागमा परेको थियो भने प्रदेश सभा–१ (ख) नेपाली कांग्रेसले पाएको थियो । यसैगरी नेकपा एमाले राप्रपाबीच तालमेल भइ प्रदेश १ (क)मा राप्रपाका उम्मेदवार र १(ख)मा एमालेका उम्मेदवारलाई सघाउने रणनीति बनाइएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज २४ गते सोमबार