वीरेन्द्र जैसी । नेपालगन्ज ।
आइतबार बाँकेमा अविरल वर्षात्का बीच उत्साहपूर्णरुपले मनोनयन दर्ता भएको छ । लगातार परेको वर्षा छल्दै, पानीमा भिज्दै उम्मेदवारहरु मनोनयन दर्ता गर्न पुगेका थिए । बाँकेको केन्द्र नेपालगन्जमा रहेको क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय राखिएको पशु कार्यालय परिसरमा रहेको डुबानले नेताहरुको भाषण र आश्वासनलाई नै गिज्याइरहको थियो ।
घुँडासम्म पुग्नेगरी मनोनयन दर्तास्थल जाने बाटो पानीले भरिएको थियो । उम्मेदवारहरु गाडीमा चढेर मनोनयनस्थल पुगे भने उनीहरुको पछि कार्यकर्ताहरुको सानो समूह थियो । पशु कार्यालयको बाहिरपट्टिको सडक र रामलिला मैदान पानीले डुबेको थियो । एकैपटक धेरै दलका उम्मेदवारहरु मनोनयन दर्ता गराउन पुगेपछि ५ बजे सकिने भनिएको मनोनयन दर्ताको काम बेलुकी अबेरसम्म लम्बिएको थियो ।
यसपटक निर्वाचन आयोगले आचारसंहितामै ठूलो संख्यामा ¥याली निकाल्न निषेध गरेको थियो । त्यसैमाथि वर्षात्का कारण मनोनयनमा तामझाम देख्न पाइएन । फूलमाला लगाएर उम्मेदवारहरु मनोनयनस्थलमा पुगेका देख्न सकिन्थ्यो ।
क्षेत्र नम्बर १ मा मन्त्रीसहित २८ जना उम्मेदवार
बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधि र प्रदेशसभामा गरी २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ६ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभामा एकजना स्वतन्त्रसहित ११ जना, प्रदेश १(क)मा चारजना स्वतन्त्रसहित १० जना, प्रदेश १(ख)मा एकजना स्वतन्त्रसहित सातजनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत यमप्रसाद बास्कोटाले जानकारी दिए ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट सूर्यप्रसाद ढकाल, सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका महेश्वरजंग गहतराज ‘अथक’, नेपाली कांग्रेस विपीका तर्फबाट कुन्ति शर्मा, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाही, जनता समाजवादी पार्टीबाट रामकुमार यादव र नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अथक हाल संघ सरकारमा युवा तथा खेलकुदमन्त्री छन् ।
यसैगरी प्रदेश सभा–१ (क) मा गठबन्धनबाट माओवादीका कृष्णा केसी (नमुना), नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नरेन्द्रकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा १ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी, सत्तारुढ गठबन्धनबाट कांग्रेसका फुलाराम थारु, राष्ट्रिय जनमुक्ति पार्टीका गगनबहादुर थापा र नेपाल मजदुर किसान पार्टीका हिराबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ मा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उक्त क्षेत्रको प्रतिनिधि र प्रदेशसभा–१ (क) मा नेकपा माओवादीको भागमा परेको थियो भने प्रदेश सभा–१ (ख) नेपाली कांग्रेसले पाएको थियो । यसैगरी नेकपा एमाले राप्रपाबीच तालमेल भइ प्रदेश १ (क)मा राप्रपाका उम्मेदवार र १(ख)मा एमालेका उम्मेदवारलाई सघाउने रणनीति बनाइएको बताइएको छ ।
क्षेत्र नम्बर २ मा मन्त्रीसहित ३९ जना उम्मेदवार
बाँकेको क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेशसभाका लागि ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा १५, प्रदेशमा (क) मा १२ र (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले जानकारी दिए । प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नेता तथा संघ सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका मोहम्मद ईश्तियाक राई, राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशम्शेर राणा, नेपाली कांग्रेसका नेता सुदीपनरसिंह राणा, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । मन्त्री राईले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । सत्तारुढ दलसँग गठबन्धन तोडेपछि जसपाले क्षेत्र नम्बर २ मा एकल उम्मेदवारी दिएको हो । यस्तै राप्रपाका महामन्त्री डा. राणालाई नेकपा एमालेले समर्थन गरेको छ । खनालले आफूलाई शिवसेनालगायत हिन्दूवादी संघ, संगठनको प्रतिनिधिका रुपमा प्रस्तुत गर्दै आएका छन् ।
यसैगरी प्रदेशसभा २ (क) मा नेपाली कांग्रेसका राजकुमार बर्मा, नेकपा एमालेका विजय यादव, जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल यादव, स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा २ (ख) मा नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्रबहादुर हमाल, नेकपा एमालेका निरक गुरुङ, जनता समाजवादी पार्टीबाट आदेश अग्रवाल, नेकपा माओवादी केन्द्रका अकलबहादुर बम, स्वतन्त्र उम्मेदवार डा. विनोद कर्णलगायतले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले जानकारी दिए ।
क्षेत्र नम्बर ३ मा ३१ जना उम्मेदवार
बाँके क्षेत्र नम्बर ३ मा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा १०, प्रदेशतर्फ (क) मा ९ र (ख) मा १२ जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए । क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा नेकपा एमालेका किस्मतकुमार कक्षपति, नेपाली कांग्रेसका किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशतर्फ ३(क)मा एमालेमा रत्नबहादुर खत्री, सत्ता गठबन्धनबाट माओवादीका आइपी खरेललगायतले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश ३ (ख) एमालेका भीमबहादुर वली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बादशाह कुर्मीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर ३ मा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उक्त क्षेत्रको प्रतिनिधि र प्रदेशसभा ३(क) मा नेकपा माओवादीको भागमा परेको थियो भने प्रदेशसभा ३(ख) नेपाली कांग्रेसले पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्