16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

डुडुवामा विस्थापितलाई तयारी खाजा र खाना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २४, २०७९  

डुडुवा ।

डुडुवा गाउँपालिकाका बाढीपीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिकाले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सयजनालाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको हो ।

गाउँपालिका–१ का छिटाइपुर्वास्थित दुईवटा पाझा टोलका करिब एक सय २० जना र सोही वडाअन्तर्गत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब दुई सय ५० जना अहिले बाढी र डुबानबाट विस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा बसिरहेका छन् । गाउँघर बाढीले डुबान गरेपछि ज्यान सुरक्षित गर्दै अश्रयस्थलको शरणमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र चार/पाँच दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।

गाउँपालिका, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी तीनवटा रबर बोटको प्रयोग गरी राप्ती नदीपारि बगरमा रहेका ती स्थानीयलाई राहतको सामग्री पठाइएको छ । चिउरा, बिस्कुट, चाउचाउ, भुजा र नमकिन नास्ताका लागि तयारी खाजा र खानाका लागि चामल, दाल, नुन, खुसार्नी, गुण आलु, खाना पकाउने ग्यास चुलो र सिलिण्डर, मिनिरल वाटर र जार पानीलगायतको सामग्री पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । आश्रयस्थलमा रहेका सबैलाई केही दिनसम्म खाना पुग्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

‘अब केही दिनसम्म बाढीपीडित भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ,’ उनले भने, ‘पछि अवस्थामा सुधार आएमा गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने छ ।’ वडा सदस्यसमेत जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा पालिकाका कर्मचारी विजयकुमार यादव र कौशलकुमार कैरातीको टोलीले राहतका सामग्री लिएर बाढीपीडितलाई उपलब्ध गराएको छ ।

उक्त टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको उद्दार टोलीसमेतले सहयोग गरिरहेको छ । शनिबार राहत लगिएको छ भने नपुगेको स्थानमा आइतबार राहतलगायतका सामग्री लग्न लगिएको समन्वय समितिका प्रमुख चौधरीले बताए ।

यसैबीच गाउँपालिकाको स्वास्थ्य शाखाले बाढीपीडितहरुका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । शिविरमा बाढीपीडितहरुको स्वास्थ्य चेकजाँच, निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्यकर्मी शैलेन्द्र शर्माले बताए । उनका अनुसार बाढी र डुबानबाट विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले तत्काल स्वास्थ्य टोली खटाएर औषधि उपचार गरेको स्वास्थ्य शाखाका सहसंयोजक वीरेन्द्र घलेले बताए । स्वास्थ्य शाखाका सहसंयोजक घले, हेमन्त शर्मा, पवन कैराती, शैलेन्द्र शर्मालगायतको टिमले स्वास्थ्य चेकजाँच गरिरहेको छ ।

बाढी र डुबानबाट उक्त क्षेत्र सबैभन्दा बढी प्रभावित छ । पालिका अध्यक्ष चौधरीले बाढीपीडितहरुको उद्दार, राहत र व्यवस्थापनका लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै उनीहरुलाई सक्दो सुरक्षित र उद्दारको कार्यलाई प्रभावकारी बनाउने बताए ।

प्रकाशित मितिः सोमवार, अशोज २४, २०७९     11:06:00 AM  |