युनिफिकेसन चर्चका प्रतिनिधि एमाले समानुपातिक सूचीको दोस्रो नम्बरमा



काठमाडौँ ।

‘होली वाइन’का रुपमा नेपालमा चिनिने ‘युनिफिकेसन चर्च’का प्रतिनिधि एकनाथ ढकाल नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचीको खस आर्यतर्फ दोस्रो नम्बरमा परेका छन्।

उनी रघुजी पन्तपछि खस आर्यतर्फको सूचीमा दोस्रो नम्बरमा परेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका ढकाल केही महिनाअघि एमालेमा प्रवेश गरेका थिए। उनीसँगै उनको सिफारिसमा पार्टीले रिपब्लिका मिडिया ग्रुपकी निर्देशक शोभा ज्ञवालीलाई पनि समानुपातिक सूचीमा सामेल गरेको छ।

नेपालमा सन् २०१८ मा सम्पन्न ‘एसिया प्यासिफिक समिट’को उद्घाटन प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले गरेका थिए। परिवार दलका संस्थापक अध्यक्ष ढकालको आबद्धता विवादित युनिफिकेसन चर्चसँग रहिआए पनि यसपल्टको निर्वाचनमा उनी एमालेमा आबद्ध भएका हुन्।

उक्त सम्मेलनकै क्रममा चर्चसँग आबद्ध युनिभर्सल पिस फेडरेसनकी संस्थापक हाक जा हनमुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १ लाख डलरको चेक हस्तान्तरण गरेकी थिइन्।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असोज २२ गते शनिबार