16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

ट्याक्टर लिएर बाढीपीडितको उद्दार तथा राहतमा जुटिन् निवर्तमान सांसद नमूना (फोटोफिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २२, २०७९  

बाँके ।

नेकपा माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमूना) बाँकेका बाढीपीडितको उद्दार तथा राहतमा जुटेकी छिन् । अधिकांश दलका ठूला नेताहरु आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघको निर्वाचनको लागि टिकटको लागि दौडधुप गरिरहेका बेला नमूना भने बाढीपीडित क्षेत्रमा पुगेर शुक्रबारदेखि उद्दार राहतमा खटेकी हुन् ।

बाँकेका राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेर राहतमा उद्दारमा निवर्तमान सांसद नमूनको सहितको टोली बाढीपीडितको उद्दारमा जुटेको नेकपा माओवादी केन्द्रका युवा नेता सूर्य प्रकाश घर्तीले जानकारी दिए । ‘निवर्तमान सांसद नमूनाको टोली दुई दिनदेखि बाढी प्रभावित क्षेत्रमा रहेको छ’ उनले राप्ती पारीबाट भने, ‘अहिले पनि यहाँ हामीले बाढीपीडितको उद्दारका साथै डुवानमा परेका घरबाट सामान बाहिर निकालिरहेका छौं ।’

मानवीय क्षती नभएपनि बाढी घरमा पस्दा भौतिक क्षती धेरै भएको युवा नेता घर्तीले जानकारी दिए । युवा नेतृ समेत रहेकी निवर्तमान लुम्बिनी प्रदेश सांसद नमूना आफैं स्थानीयका ट्याक्टरमा बसेर उद्दार र राहतमा जुटेकी हुन् । ‘अहिले राप्ती वहाव हिजोको तुलनामा केही कम भएकाले स्थानीयमा त्रास कम भएको छ’ बैजापुरबाट उनले टेलिफोनमा भनिन्, ‘विद्यालय र सामुदायिक भवनमा राखिएका बाढी प्रभावितलाई खानाको लागि व्यवस्थापन मिलाइराखेका छौं ।’

बाढी प्रभावितको उचित व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघ सरकारलाई गुहारेको उनले बताइन् । बाढीका कारण राप्ती सोनारी र नरैनापुरको विद्युत् अवरुद्ध भएकाले तत्काल सुचारुको लागि काम थालिएको नमूनाले जानकारी दिइन् ।

‘दुवै पालिकाको विद्युत् छिटोभन्दा छिटो सुचारु गर्नको लागि विद्युत प्राधिकरणसँग कुरा भइसकेको छ’ उनले भनिन्, ‘नदीमा बाढीको बहाव र निरन्तर पानी परिरहेकोले समस्या भइरहेको छ । पानी राकिनेवित्तिकै नदी बाहेकका अन्य स्थानको काम सुरु हुन्छ ।’

प्रकाशित मितिः शनिबार, अशोज २२, २०७९     3:14:30 PM  |