दाङ ।
दाङस्थित इलाका प्रहरी कार्यालय सिसहनियामा बाढी पसेको छ। इप्रका सिसहनियामा बाढी पसेपछि त्यहाँ कार्यरत ११ जना प्रहरीसहित हातहतियार, सञ्चारसेट लगायत महत्वपूर्ण सामग्री अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र घोषित राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको इप्रका सिसहनियमा स्थानीय दोलाई खोलाको बाढी शुक्रबार बिहान पसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए।
इप्रकामा पानी पसेपछि अहिले त्यहाँ इप्रका गढवा लगायतको टोलीले उद्धार तथा सरसामान ओसार्ने क्रम जारी छ।
घटनास्थलतर्फ जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितको सुरक्षा अधिकारीको टोली प्रस्थान गरेको प्रवक्ता गौतमले जानकारी दिए।
उनका अनुसार दोलाई खोलाकै बाढीले राप्ती गाउँपालिका वडा नम्बर ६ मा एक घर डुबानमा पर्दा एक जना घरभित्र थुनिएको खबर पनि प्राप्त भएको छ। उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाइएको उनल् जानकारी दिए।
इप्रका सिसहनियाका प्रहरी टोलीलाई सुरक्षित स्थान सडकमा पुर्याइएको र नेपाल रेडक्रस सोसाइटीसँग त्रिपाल लगायतका आवश्यक सामग्रीका लागि कुरा भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै पहिरोका कारण पूर्व-पश्चिम राजमार्ग पनि अवरूद्ध भएको छ। लमही नगरपालिका वडा नम्बर ९ मा पहिरो र राप्ती गाउँपालिका वडा नम्बर ६ मा पहिरोसहित रूख ढल्दा राजमार्ग अन्तर्गत दाङ-कपिलवस्तु सडक खण्ड अवरूद्ध छ।
प्रतिक्रिया दिनुहोस्