16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

निवर्तमान वडाध्यक्षको संरक्षणमा नेपालगन्ज बसपार्कभित्र अवैध वर्कशप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २०, २०७९  

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज बसपार्कभित्रको करिब दुई कठ्टा जमिन गाडी धुने र ग्रिसिङको काम गर्नेगरी छुट्याइयो । उक्त जमिनलाई उपमहानगरपालिकाले बसपार्कको बाँकी भागभन्दा अलग्गै छुट्याएर भाडामा दियो । टेण्डर आह्वानपछि उक्त जमिन भाडामा प्राप्त गर्ने कम्पनी थियो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष सफिक बेहनाको ।

बेहनाले सञ्चालन गर्दै आएको नेश्नल सप्लायर्सले उक्त जमिनमा गाडी धुने तथा ग्रिसिङको काम गर्ने एउटा पसल सञ्चालनका लागि भाडामा पाएकोमा अहिले त्यहाँ गाडीका वर्कशपहरु नै सञ्चालन भइरहेका छन् । त्यसमध्ये एक वर्कशप त दर्तासमेत छैन । गाडी धुने, ग्रिसिङ गर्ने र वर्कशप गरी चारवटा फर्महरु त्यहाँ सञ्चालनमा छन् ।

बसपार्कभित्र वर्कशप सञ्चालन गर्दा सामान हराउने र त्यसको गुनासो आफूहरु कहाँ आउने गरेको बसपार्क सञ्चालनको जिम्मा पाएको अर्काे एक कम्पनी शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका कर्मचारी शेखर बोहरा बताउँछन् । यसका साथै बसपार्क क्षेत्रभित्र फोहोर हुने समस्या पनि वर्कशपहरुले निम्त्याउने गरेको पाइएको छ ।

केही दिनअघि उपमहानगरपालिकाबाट खटिएको एक टोलीले पनि अनुगमन गर्ने क्रममा बसपार्कभित्र अवैध काम भइरहेको भन्ने रिपोर्ट बुझाएको उपमहानगरपालिकाको राजश्व शाखाका प्रमुख वीरबहादुर थापाले जानकारी दिए । तत्पश्चात मेयर प्रशान्त विष्टले अवैध संरचना हटाउन निर्देशन दिएपछि आफूले आदेशानुसार ती संरचना हटाउनु भनेर नगर प्रहरीलाई पत्राचार गरेको उनको भनाइ छ ।

यहाँ सञ्चालन भइरहेका चारवटा पसलहरुबाट निवर्तमान वडाध्यक्ष सफिक बेहनाले मासिक १०/१० हजार भाडा असुलिरहेका पसल सञ्चालकहरु बताउँछन् । जबकी उक्त स्थानको भाडावापत उपमहनगरपालिकामा मासिक करिब साढे २३ हजार बुझाउने गरिएको निवर्तमान वडाध्यक्ष बेहनाले बताए । वर्कशप सञ्चालक आफूहरुलाई बेहनाले नै पसल सञ्चालन गर्न अनुमति दिएको बताउँछन् । मौखिकरुपमा मासिक १० हजार भाडा दिने सहमति गरिएको उनीहरुले बताए ।

वडाध्यक्ष बेहनाले वर्कशपहरु सञ्चालन गर्न पाइने नपाइनेबारे जवाफ दिन चाहेनन् । उनले आफूले प्रक्रियाभित्रै रहेर उक्त जमिन भाडामा पाएको जिकिर गरे । भाडामा पाए पनि आफूले यहाँ सञ्चालन गर्न दिएका पसलहरुका विषयमा अहिले प्रश्न उठेको पनि उनले स्वीकार गरे । यस विषयमा आफूले पनि चासो राखेर बुझ्न प्रयास गरेको उनको भनाइ छ ।

यद्दपि उनी आफू वडाध्यक्ष हुँदाहुँदै ठेक्का आफ्नै कम्पनीलाई पर्नुमा स्वार्थ बाँझिएको मान्न तयार छैनन् । उनले भने, ‘स्वार्थ छ कसरी भन्न मिल्छ ? १६ हजारको टेण्डर हामीले २३ हजार पाँच सयमा लिएको हो । हाम्रो नेश्नल सप्लायर्स भनेको आजको फारम होइन । २०५९ सालदेखि दर्ता छ ।’

उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले अध्ययनपश्चात सम्झौतामा तोकिएभन्दा बाहिर गएर पसलहरु सञ्चालनमा रहेको पाइएको बताए । सम्झौतामा एउटामात्रै पसल सञ्चालन गर्ने भन्ने उल्लेख भएकोमा अहिले अरु पसलहरु पनि सञ्चालनमा रहेको पाइएको बताए । आफूले उक्त विषयको तथ्यसहित रिपोर्टिङ भएपछि हटाउनु भन्ने निर्देशन दिएकोमा पसलेहरुको अनुरोध र दसैंतिहारलाई ध्यानमा राख्दै केही दिन उक्त काम स्थगित गर्न निर्देशन दिएको बताएका छन् ।

‘तोकिएभन्दा बढी पसल पाइयो’
प्रशान्त विष्ट
मेयर, नेपालगन्ज उपमहानगरपालिका

सम्झौतामा एउटामात्रै पसल सञ्चालन गर्ने भन्ने उल्लेख भएकोमा अहिले अरु पसल पनि सञ्चालनमा रहेको देखियो । उक्त विषयको तथ्यसहित रिपोर्टिङ भएपछि हटाउनु भन्ने निर्देशन दिएको हो । अहिले उहाँहरुको अनुरोध र दसैंतिहारलाई ध्यानमा राखेर केही दिन उक्त काम स्थगित गरेका छौँ ।

‘मेरो स्वार्थ छ कसरी भन्न मिल्छ ?’
सफिक बेहना
निवर्तमान वडाध्यक्ष, नेपालगन्ज वडा नम्बर ४

वर्कशपहरु सञ्चालन गर्न पाइने नपाइनेबारे हामी छलफलमै छौँ । मैले मेयरसाबलाई भेटेर पनि यस विषयमा कुरा गरेको छुँ । हामी प्रक्रियाभित्रै रहेर उक्त जमिन भाडामा पाएका हौँ ।

मेरो स्वार्थ छ कसरी भन्न मिल्छ ? १६ हजारको टेण्डर हामीले २३ हजार पाँच सयमा लिएको हो । हाम्रो नेश्नल सप्लायर्स भनेको आजको फारम होइन । २०५९ सालदेखि दर्ता छ ।

प्रकाशित मितिः बिहिबार, अशोज २०, २०७९     10:38:06 AM  |