17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

दसैंकै बेला विमान छैनन्ः हिमालीवासी नेपालगन्जमा भौतारिँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १७, २०७९  

नेपालगन्ज ।

दसैंमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ । तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरु यतिबेला नेपालगन्जमा दसैंमा घर जान नपाइरहेको पीडामा छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाइजहाजका कम्पनीहरुले काठमाडौंमै उडान केन्द्रित गराएपछि उनीहरुले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान छैन ।

अहिले नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा उडान गर्न समिट एयरको एकमात्र जहाज छ । समिट एयरको जहाजका लागि पनि कर्मचारीहरुले टिकट नदिएपछि उनीहरु निराश अवस्थामा विमानस्थल परिसरमा भेटिए । बिहीबार नेपालगन्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान गरे । तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि उड्न पाएनन् ।

विमान कम्पनीका कर्मचारीहरुले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए । समिट एयरका कर्मचारीहरुले आइतबार उडान गर्ने सेड्युल रहेको विमानको टिकट पनि दिन मानिरहेका थिएनन् । ती कर्मचारीहरुले भन्दै थिए, ‘हामी यहाँ बसेर सेवा दिइरहेकाहरुलाई पेल्ने । तर, यतिबेला एउटा पनि विमान यहाँ नराखेर लुक्लातिर गएका कम्पनीहरुलाई केही नभन्ने ?’

हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौतारिँदा पनि टिकट नपाइएको दुःखेसो पोखे । उनले विमान कम्पनीहरुले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीवासीको अधिकार खोखिएको बताए । अहिले विमान कम्पनीहरुले कर्णालीका जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ ।

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगन्जमा छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द अवस्थामा रहेको थियो । भएका उडानमा पनि सर्वसाधारणले टिकट पाउँदैनन् । नेता तथा पहुँचवाला र तिनका आफन्तहरुले फोन गरेकै भरमा टिकट दिने गरेका कारण आधिकारिक बाटोबाट टिकट काट्न पुग्ने सर्वसाधारण निराश भएर फर्किनुपरिरहेको छ ।

यस्तो अवस्थामा पनि नेपालगन्ज विमानस्थलमा हेल्प डेस्कको व्यवस्था छैन । कति यात्रुहरु कहाँका लागि टिकट पर्खिरहेका छन् भन्ने रेकर्ड न विमान कम्पनीहरुसँग छ न विमानस्थल प्रशासनसँग । कर्णालीवासी सर्वसाधारणहरु भने दसैंको मुखमा घरको याद मनमा बोकेर भौतारिइरहेका छन् । चुनराज शाहीले भने, ‘चुनावका बेला जबरजस्ती बोलाएर टिकट दिएर विमानमा उडाएर लैजाने नेताहरु अहिले कता छन् थाहा छैन ।’

 

प्रकाशित मितिः सोमवार, अशोज १७, २०७९     3:29:36 PM  |