बर्दियामा यात्रु सहायता कक्ष स्थापना



बाँके ।

दसैंतिहार, छठलगायतका चाडपर्वलाई ध्यानमा राखेर बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय बर्दियाले संयुक्तरुपमा सहायता कक्ष स्थापना गरेका हुन् ।

गुलरिया, राजापुर, सानोश्री, भुरिगाउँ र बाँसगढीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रामा कुनै समस्या परेमा यात्रु सहायता कक्षको सहयोग लिन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक ईश्वरी देवकोटाले जानकारी दिए ।

‘सवारी साधन र यात्रुहरुको चापलाई ध्यानमा राखेर यात्रुहरुलाई पर्ने समस्या र गुनासो सुनुवाइ गर्न यात्रु सहायता कक्षले सहयोग गर्ने छ,’ उनले भने । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले चाडपर्व लक्षित गरेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।

‘सवारी चालक तथा सवारी धनीहरुलाई यात्रुमैत्री व्यवहार, सुरक्षित सडक प्रयोग गर्न, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्दा हुन सक्ने सम्भाव्य सवारी दुर्घटना रोक्न पनि यात्रु सहायता कक्षमा खटिएका प्रहरी कर्मचारीले मद्दत पु¥याउने छन्,’ उनले भने । सहायता कक्षमा खटिएका प्रहरीले तोकिएको भाडादरभन्दा बढी भाडा असुल गर्न खोज्ने जस्ता कार्यलाई समेत निरुत्साहित गर्नेछन् ।

यात्रु तथा अन्य मानिसहरुलाई कुनै समस्या परे नजिकैको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी संयुक्तरुपमा खटिने छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रबार