नेपालगन्ज ।
बाँकेस्थित जानकी गाउँपालिकाकी २३ वर्षीया गोल्डी बर्माको शंकास्पद मृत्यु भएकोबारे बाँके प्रहरीमा मृतकका पति निराजनविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी परेको छ । गोल्डीका पिता पेशकार बर्माले ज्वाई निराजनले नै छोरीको हत्या गरेको आशंकामा कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीले पोष्टमार्टम रिपोर्टमा झुन्डिएर मृत्यु भएको उल्लेख भए पनि माइती पक्षले कर्तव्य ज्यानमा जाहेरी लिएर आएपछि गम्भीरतापूर्वक अनुसन्धान गरिने बताए । प्रहरी कहाँ शुक्रबार नै जाहेरी पुगे पनि प्रहरीले आइतबार दर्ता गरेको हो । मृतक गोल्डीका पति निराजन उनको मृत्यु भएको दिनदेखि फरार छन् ।
निराजनको परिवारले ती महिलाले आत्महत्या गरेको दाबी गरिरहेको छ । माइती पक्षले ती महिलाका श्रीमान्ले नै हत्या गरेको दाबी गरिरहेको छ । मृतकको माइती घर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ लग्दहवा हो । गोल्डीमा पाँच वर्षका एक छोरा छन् ।
असोज १ गते साँझ गोल्डीले आत्महत्या प्रयास गरेको र आफूले बचाउन खोज्दाखोज्दै मृत्यु भएको उनका ससुरा गिरवल बर्मा बताउँछन् । तर, गोल्डी झुन्डिएको उनीबाहेक कसैले देखेका थिएनन् । गोल्डीका पिता पेशकार बर्माका अनुसार ज्वाई निराजन मादक पदार्थ र लागूऔषध दूव्र्यसनी थिए ।
उनले गोल्डीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । उनलै छोरीको हत्या गरेर फरार भएको पेशकारको आशंका छ । पेशकारका अनुसार ज्वाई घटना भएको दिन आफूहरु पुग्दासम्म घटनास्थलमै थिए । आफूहरु पुगिसकेपछि उनी त्यहाँबाट फरार भए । यो समाचार तयार पार्दासम्म सम्पर्कमा आएका छैनन् ।
माइती पक्षले ज्वाईले नै छोरीको हत्या गरेको दाबी गरिरहेको छ । नभए उनी फरार हुनुपर्ने कुनै कारण नभएको पेशकार बताउँछन् । तर, पोष्टमार्टम रिपोर्टमा गोल्डीको मृत्युको कारण झुन्डिएर आत्महत्या नै उल्लेख छ । निराजनको परिवारका सदस्यहरुसँग राम्रो सम्बन्ध छैन । उनी मदिरा र लागूऔषधमा फसेको, भएको सम्पत्ति बेचेर सकेको, सम्झाउँदा झगडा गर्ने गरेको उनकै पिता गिरवल वर्मा बताउँछन् ।
भाइहरु छुट्टिँदा उनले पाएको करिब १८ कठ्ठा जमिन बेचेर सिध्याइसकेका उनले घर भएको जमिन र घर पनि बैंकमा राखेको गिरवल बताउँछन् । गाउँघरमा पनि निराजनले धेरै मानिसहरुलाई फसाउँदै आएको उनकी आमा नै बताउँछिन् ।









प्रतिक्रिया दिनुहोस्