बाँके ट्राफिकले बढायो सक्रियता, चेकजाँच तिव्र



बाँके ।

जिल्ला ट्राफिक प्रहरी बाँकेले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमतालगायतलाई चेकजाँच तिव्र पारेको छ ।

चाडपर्वमा हुनसक्ने सवारी दुर्घटनालाई ध्यानमा राखेर चेकजाँच तिव्र पारिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका इञ्चार्ज ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

लामो दूरीका सवारी साधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारीसाधनलाई विशेष चेकजाँच ट्राफिक प्रहरीले गरिरहेको छ । चाडपर्वको समयमा सवारी साधनबाट हुन सक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ भइरहेको उनले बताए ।

नियमित चेकजाँच, मापसे जाँच, छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारी साधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमबार