बाँके ।
स्थानीय तह चुनावको खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले बाँकेका आठवटै पालिका प्रमुख, उपप्रमुखसहित वडाध्यक्षलाई जरिवाना तोकेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै चुनावको खर्च समयमै नबुझाउने उम्मेदवारलाई जरिवाना तोकेको हो ।
समयमै चुनाव खर्च नबुझाउनेको सूचीमा बाँकेका सबै पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले समयमै निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना गरिएको बताइन् ।
‘आयोगले मंगलबार चुनाव खर्चको विवरण समयमै नबुझाएका सबै उम्मेदवारलाई जरिवाना तोकेको सूचना निकालेको छ,’ उनले भनिन्, ‘त्यसमा निर्वाचनमा भाग लिएर समयमै खर्च विवरण नबुझाउने बाँकेका उम्मेदवारसमेत पर्नुभएको छ ।’
आयोगले कोहलपुर नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही चार लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । आयोगले जारी गरेको सूचनामा नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीलाई जनही चार लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको उल्लेख छ । खर्च नबुझाएका प्रमुख र उपप्रमुख पदमा उठेर पराजित उम्मेदवारलाई समेत सोही रकम जरिवाना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्