नेपालगन्ज ।
नेपालगन्जका व्यापारीहरुले नेपाल–भारत सीमा नाका जमुनाहमा नेपालगन्जमै सामान खरिद गर्न उपभोक्ताहरुसँग आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगन्जका व्यवसायीहरुको टोली जमुनाहा नाकामा पुगेर सामान खरिदका लागि भारतीय बजार नजान आग्रह गरेको हो ।
व्यापारीहरुले सीमापारी रुपैडिहामा सस्तो पाइन्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्दै त्यहाँ सस्तोका नाममा एकातिर उपभोक्ता गुणस्तरमा ठगिने र अर्काेतिर राज्यको राजस्वमा घाटा लाग्ने बताए । उनीहरुले स्वदेशमै सामान खरिद गरौं भन्ने सन्देश लेखिएका पर्चा पनि वितरण गरेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले स्वदेशमै खरिद गर्दा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन मद्धत पुग्ने बताए । दसैं तिहार लगायतका चाडबाड नजिकिँदै जाँदा रुपैडिहामा किनमेल गर्न जानेको भीड लागेको छ भने नेपालगन्ज बजारमा ग्राहकहरुको न्यून उपस्थिति हुने गरेको छ ।
यही अवस्थालाई ध्यानमा राखेर नेपालगन्ज उद्योग वाणिज्य संघले नाकामा सचेतनामूलक कार्यक्रम गरेको महासचिव चिरिन्जीवी ओलीले जानकारी दिए । संघले शुक्रबार बैंकको चर्को ब्याजदर वृद्धि गरेको भन्दै राष्ट्र बैंक अगाडि धर्ना दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्