खाली खुट्टै खेल्दै खेलकुद मन्त्रीकै जिल्लाका खेलाडी



नेपालगन्ज ।

बाँके जिल्लाबाट अहिले संघीय र प्रदेश सरकारमा गरी दुईजना मन्त्रीको प्रतिनिधित्व छ । झन् संघीय सरकारका खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ नै बाँके जिल्लाका सांसद हुन् ।

खेलकुद मन्त्रीकै जिल्लामा जिल्लास्तरीय छनोट खेलमा सहभागी खेलाडीहरुले पोसाक पाएनन् । हुनेले जुत्ता किनेर लगाए । नहुनेले खाली खुट्टै छनोटमा सहभागिता जनाए । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाह राज्यले खेलाडीहरुप्रति गरेको व्यवहार नजिकबाट भोग्नुपर्दा अत्यन्त दुःख लागेको बताउँछन् ।

उनका अनुसार जिल्लास्तरीय छनोट खेलका लागि पोसाक लगायत व्यवस्थापनमा सहयोग कतैबाट पनि उपलब्ध भएन । खेलाडीले पोसाकबिनै छनोट खेलमा सहभागिता जनाए । पूर्व बास्केटबल खेलाडीसमेत रहेका शाह भन्छन्, ‘खेलाडी हुँदासम्म केही कुरा बुझिन होला । जब समितिमा आएँ तब मलाई धेरै कुरा थाहा भयो । खेलाडीलाई यतिसम्म अपमान गरिएको छ कि यस्तै हो भने खेल विधा बन्द गरौँ । खेलाडीको भविष्य बर्बाद नगरौँ ।’

जिल्लामा ३० वटा खेलहरुको छनोट खेल गराइएको थियो । उक्त खेलका लागि एक रुपैयाँ बजेट पनि नआएको शाहले बताए । ‘एकजनाको हड्डी भाँचियो हामीहरु मिलेर उपचार गरायौँ । धन्न ठूलो दुर्घटना हुन पाएन ।’ उनले खेलाडीहरुका लागि व्यक्तिगत खर्चमा प्रदेशस्तरीय छनोटमा सहभागी हुने करिब पाँच सय खेलाडीलाई पोसाकको व्यवस्था गराएको बताए । जुत्ताको भने व्यवस्था गर्न नसकिएको उनको भनाइ छ ।

मन्त्रीकै जिल्लामा खेलाडीहरुले पोसाक नपाउनु दुःखद भएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले माथिल्लो सरकारले सहयोग नगरिरहेको अवस्थामा जिल्लाका स्थानीय सरकारले पनि सहयोग नगरेको बताए । ‘हामीले जिल्लास्तरीय छनोट खेलमा सबै स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएका थियौँ । त्यसमा डुडुवाको एकजना उपाध्यक्षबाहेक अरु कोही पनि आइदिएनन् । सुन्नमा आयो त्यहीदिन जनप्रतिनिधिहरु एउटा एनजिओको युवालक्षित भनिएको कार्यक्रममा हुनुहुन्थ्यो रे ।’

अहिले नेपालगन्ज र राप्तीसोनारीले एक–एक लाख र कोहलपुर नगरपालिकाले ५३ हजार सहयोगको बाचा गरेको तर प्राप्त नभएको शाहले बताए । सीमित स्रोत साधनका बीच पनि खेलाडीहरुको उत्साहले आएको नतिजाबाट आफू आश्चर्यचकित भएको उनले
बताए । फुटबलमा बाँके जिल्ला प्रदेशस्तरमा प्रथम भएको छ । अन्य खेलमा पनि बाँकेका धेरै खेलाडीहरु छनोट हुने अपेक्षा उनले व्यक्त
गरे ।

फितलो व्यवस्थापन 

शनिबारबाट नेपालगन्ज रंगशालामा बक्सिङको प्रदेशस्तरीय छनोट खेल हुने तालिका तय गरिएको थियो । तर अपरान्ह साढे दुई बजेसम्म पनि खेल सुरु भएको थिएन । बक्सिङमा प्रदेशका विभिन्न जिल्लाबाट ८० जना खेलाडीहरु सहभागी छन् ।

उनीहको छनोट आज आइतबारसम्म गरिसक्ने तालिका तय गरिएको छ । बक्सिङको एउटा खेलाडीले एउटा खेल खेलेको कम्तिमा १२ घण्टापछि अर्काे खेल खेल्नुपर्ने हुन्छ । तर ८० जना खेलाडीलाई दुई दिनमा खेलाएर उत्कृष्ट छनोट गर्ने भनिएको छ । यसैबाट थाहा हुन्छ कति फितलो तरिकाले खेलाडीहरुको छनोट हुँदै छ ।

प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई पनि छोटो समयमा छनोटको काम सक्नुपर्ने बाध्यताले आफूहरुलाई चुनौती थपिएको बताउँछन् । खेलाडीहरुले बढीमा एक महिनाको तयारी मात्रै गर्न पाएका छन् । त्यसैमाथि हतारमा छनोटको काम गर्न लागिएको छ । खेलाडीहरु भन्छन्, ‘मन्त्रीलाई आफ्नै पालामा प्रतियोगिता सक्नुपर्ने हतारले खेलाडीमाथि खेलबाड गरिएको छ ।’

लुम्बिनी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियागितामा सहभागीता जनाउने विभिन्न ३६ खेलमध्ये ११ वटा खेलहरुको छनोटका खेल बाँकेमा आयोजना गरेको छ । करिब एक हजार ८ सय खेलाडीहरु छनोटमा भाग लिन बाँके आएका छन् । जसमा भारोत्तोलन, बक्सिङ र बास्केटबलको छनोट शनिबार सुरु भएको छ भने आइतबारबाट सुटिङ, उसु, जुडो, हक्की (महिला र पुरुष), जिम्नाष्टिक, कुस्ती, साइक्लिङ र पौडीको छनोट सुरु हुने तालिका छ ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतबार