नेपालगन्ज ।
बैैंकको चर्को ब्याजदरविरुद्ध नेपालगन्जका उद्योगी, व्यवसायीले नेपाल राष्ट्र बैंकमा धर्ना दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा उनीहरुले शुक्रबार बिहान १० बजे नेपाल राष्ट्र बैंकको कार्यालयअघि करिब एक घण्टा धर्ना दिएका हुन् । राष्ट्र बैंक नेपालगन्जको मुलगेटमा धर्नामा बसेका उद्योगी, व्यवसायीले ब्यानर तथा विभिन्न प्ले कार्ड बोकेर ब्याजदर एक अंकमा सीमित गर्न माग गरेका थिए ।
राष्ट्र बैंकको निर्देशनाअनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको र त्यसले व्यवसायीहरु मर्कामा परेको भन्दै संघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले यही असोज १ गतेदेखि लागु हुने गरी बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर वृद्धि गर्न पाउने निर्णय गरेपछि कर्जाको ब्याजदर पनि आकासिने व्यवसायीहरुले बताएका छन् ।
धर्नामा सहभागी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ऋण लिएका व्यवसायीको अवस्था दयनीय बनेको र व्यापार घटेर थप समस्यामा परेका उल्लेख गरे । उनले व्यापारीहरुले जिन्दगीभरि सरकारलाई कर बुझाएर सहयोग गर्ने गरेको स्मरण गराउँदै यतिबेला सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए ।
संघका महासचिव चिरञ्जीवी ओलीले चर्को ब्याजका कारण बजारमा महँगी बढेको तर्क गरे । उनले व्यवसायीहरुले सहज वातावरणमा व्यवसाय गर्न पाउने अवस्था नरहँदा त्यसको मार उपभोक्ताले मात्रै नभै समग्र राष्ट्रले नै खेप्नुपर्नेतर्फ ध्यानाकर्षण गराए । व्यवसायीहरुको धर्नामा राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर डा. धवलशम्शेर राणा पनि सहभागी भएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघले घोषणा गरेको चरणवद्ध आन्दोलनअन्तर्गत शनिबार बिहान ८ बजे जमुनाहा नाकामा नेपाली उपभोक्तालाई स्वदेशी बजारमै किनमेल गर्न उत्प्रेरित गर्ने एवम् भन्सारमा कडाइ गर्न माग गर्दै उपभोक्ता सचेतना एवम् दबाबमूलक कार्यक्रम तय गरिएको
छ ।
प्रतिक्रिया दिनुहोस्