बाँसगढीको ग्याङ नदी किनारामा दुई बालक मृत फेला



बाँके ।

बिहीबार दिउँसोदेखि हराइरहेका बाँसगढीका दुई बालक मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार बाँसगढी नगरपालिका– ९ माछागढका दुई बालक मृत अवस्थामा फेला परेका हुन् । ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको शव फेला परेको हो ।

दुबै जनाको शव स्थानीय ग्याङ नदीको किनारामा फेला परेको थियो ।

बिहीबार रातीसम्म घर नआएपछि परिवारका सदस्यहरुले इलाका प्रहरी कार्यालय बाँसगढीमा खबर गरेका थिए । खोजी गर्दै जाँदा उनीहरुको शव शुक्रबार ग्याङ नदीको किनारामा फेला परेको थियो ।

घरबाट समेत थाहा नदिएर गएका दुबै बालक पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।

‘नदी किनारामा दुबै जनाको शव फेला परेको थियो’ एक प्रहरीले भने, ‘कसरी मृत्यु भयो भन्नेबारे पोस्टमार्टम रिपोर्टले केही देखाउँला । अन्य अनुसन्धान त भइरहेको छ ।’

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिबार