बाँके ।
नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया थालेको छ । आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी भदौदेखि योजना कार्यान्वयन प्रक्रिया गाउँपालिकाले थालेको हो । योजना कार्यान्वयनका लागि प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
‘भदौदेखि हामीले योजना कार्यान्वयनका लागि प्रक्रिया थालिसकेका छौं । केही योजनाका प्रक्रिया सुरु हुने चरणमा छन्,’ उनले मिसन टुडेसँग भने । मंसिरबाट काम सञ्चालन गर्नेगरी भदौदेखि कार्यान्वयन प्रक्रिया सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिसकेको छ ।
आर्थिक वर्षको सुरुमै सक्रिय भए अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले बताए । ‘आर्थिक वर्षको सुरुबाटै काम थालिए, छिट्टै काम सम्पन्न हुन्छ । अन्त्यमा समेत कम भार पर्छ,’ उनले भने, ‘अर्को आर्थिक वर्षका योजना छनोट गर्न सहज हुन्छ । त्यसैले सुरुबाट नै प्रक्रिया थालेका हौं ।’
चालु आर्थिक वर्षमा नरैनापुरको वडा नम्बर १ मा तीन करोडमा विद्यालय भवन, वडा नम्बर २ र ३ मा सडक नाली निर्माण, वडा नम्बर ४ मा गाउँपालिकास्तरीय अस्पताल, रंगशाला, वडा नम्बर ५ र ६ मा शिक्षा र सडक पूर्वाधार विकासका योजना कार्यान्वयन हुँदैछन् । गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न नभएकाले अहिले साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता गाउँपालिकाले यस आर्थिक वर्षमा विकास योजना वैशाखभित्रै सक्ने गरी काम थालेको गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले जानकारी दिए ।
‘धान रोप्ने बेला वर्षात् नभएपछि यहाँको कृषिमा ठूलो समस्या देखिएको छ,’ उनले भने, ‘यहाँ भोकमरीसमेत देखिन थालिसकेको छ । समयमा नै योजना कार्यान्वयन गर्न सकिए स्थानीयले रोजगारीसमेत पाउँछन् ।’ सकेसम्म वैशाख अन्तिमसम्म काम सक्नेगरी योजना बनाएर काम थाल्न निर्देशन आफूले दिएको गाउँपालिका अध्यक्ष शाहले बताए ।
वित्तीय खर्च उष्कृष्ट पालिका
वित्तीय खर्चतर्फ नरैनापुर गत आर्थिक वर्षमा जिल्लाका आठ पालिकामध्ये पहिलो बनेको थियो । आर्थिक वर्षको सुरुबाट नै योजनाहरु कार्यान्वयनमा ल्याएर वित्तीय खर्च गर्ने नरैनापुर बाँकेको पहिलो पालिका बनेको हो ।
सो वर्ष नरैनापुरले विनियोजित बजेटमध्ये ९२ प्रतिशतभन्दा बढी रकम खर्च गरेको थियो । चालु आवमा समेत बढीभन्दा बढी विनियोजित बजेट खर्च गर्नेगरी योजना बनाएर अगाडि बढिएको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले बताए । ‘गत आवमा ९२ प्रतिशत बढी वित्तीय खर्च गरेर जिल्लाको पहिलो पालिका बनेका थियौं,’ उनले भने, ‘अहिले पनि समयमै त्योभन्दा पनि बढी खर्च गर्नेगरी योजना बनाएर काम गरिरहेका छौं ।’
गाउँपालिकाका अध्यक्ष शाह सीमित स्रोत र साधन हुँदासमेत बजेट खर्च पालिकाको राम्रो रहेको बताउँछन् । ‘सकेसम्म हामी पालिकामा आएको रकम फिर्ता नहोस् भनेर योजना बनाएर काम गर्छौं,’ उनले भने, ‘त्यसैको परिणाम हो गत आवमा जिल्लामै सबैभन्दा बढी बजेट खर्च हुनुमा पनि, अहिले पनि बढीभन्दा बढी खर्च गर्ने योजनामा छौं ।’
तीन महिनामा बजेट सक्छौं
ईश्तियाक अहमद शाह
अध्यक्ष, नरैनापुर गाउँपालिका
हामीसँग बजेट नै कम छ । बजेट भएमा हामी तीन महिनामा नै खर्च गरेर देखाउँछौं ।
गत आर्थिक वर्षमामा हामीले जिल्लामा सबैभन्दा बढी बजेट खर्च गरेका थियौं । अहिले त भोकमरी सुरु भइसकेको छ । हामीसँग त धेरै रकम पनि छैन ।
दैनिकजसो राहत माग्दै घर तथा कार्यालयमा दुई सयजना मानिस आउँछन् । बजेट भए हामी जति पनि समयभन्दा अगाडि नै खर्च गर्न तयार छौं । के गर्नु नरैनापुर गाउँपालिकालाई धेरै बजेट नै छैन ।
प्रतिक्रिया दिनुहोस्