पानी नघट्दै सुरु भयो बाँकेमा नदी दोहन



ढुंगा, गिठ्ठी र बालुवा अवैधरुपमा लिँदै ट्याक्टर । साथमा अनुगमनमा गएका नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरी । तस्विरः नागरिक

नेपालगन्ज (बाँके) ।

जिल्लाका नदी तथा खोलाहरुबाट ढुंगा, गिठ्ठी र बालुवा अवैधरुपमा चोरी निकासी हुन सुरु भएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अवैध ढुंगा, गिठ्ठी र बालुवा चोरी निकासी गर्ने दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले मंगरबार राप्तीसोनारी–२, स्थित राप्ती नदी र मुगुवा खोलाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दुइटा ट्याक्टरलाई नियन्त्रणमा लिएको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक चौधरीले जनाए । ‘हामी अनुगमनमा पुगेका थियौं ।

त्यहाँ दुईवटा ट्याक्टर माल (ढुंगा, गिठ्ठी र बालुवा) लोड गरेर आउँदै रहेछन्,’ उनले भने, ‘हामीले रोक्न खोज्दा एउटा भाग्यो । अर्काे भने लोड धेरै भएकाले भाग्न सकेन ।’ उक्त समितिले मंगरबार पाँचवटा क्रसर उद्योगहरुको निरीक्षणसमेत गरेको छ ।

ति क्रसर उद्योगहरुले कागजपत्र नदेखाएको जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति संयोजक चौधरीले जनाए । ‘क्रसर उद्योगमा पुग्दा उनीहरुले हामीलाई क्रसर बैधानिकताको प्रमाणपत्र देखाएनन्,’ उनले भने, ‘क्रसर उद्योग सञ्चालक नभएको भन्दै देखाउन मानेनन् ।’ कतिपय उद्योग नवीकरण नभएको उनी बताउँछन् ।

मंगरबारदेखि सुरु भएको अनुगमन केही दिनसम्म चल्ने उनको भनाइ छ । खोलाको दोहन हुन थालेको गुनासो आएपछि अनुगमन सुरु गरिएको भन्दै उनले भने, ‘गुनासाहरु पनि आए । अनि खोलानाला बचाउने हाम्रो दायित्व र जिम्मेवारी पनि हो ।’

 

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधबार