महेन्द्र पुस्तकालय अब १० बजे खुल्ने



नेपालगन्ज ।

नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालयमा अब लयमा फर्किने संकेत देखिएको छ । भदौ २८ गते सम्पन्न १७औँ अधिवेशनबाट पुस्तकालयमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै पुस्तकालयले लय समातेको छ । अब आज मंगलबारबाट पुस्तकालय बिहान १० बजे खुल्ने भएको छ ।

नवनिर्वाचित कार्यसमितिले पुस्तकालय सञ्चालनका लागि एकजना कर्मचारी ६ महिनाका लागि करारमा नियुक्त गरेर तत्कालका लागि लेखा तथा प्रशासनको काम सुचारु गर्ने निर्णय गरेको हो ।

ती कर्मचारीलाई मंगलबारदेखि बिहान १० बजे पुस्तकालय खोल्न निर्देशन दिइएको छ भने पुस्तकालयमा आउने आगन्तुकहरुलाई स्वागत गर्ने, रेकर्ड राख्ने, केही दिनमै पुस्तक पढ्न चाहनेहरुलाई सो सुविधा उपलब्ध गराउने जिम्मा दिइएको छ ।

पुस्तकालयका क्रियाकलापलाई थप बढाएर लैजान कार्यसमितिले काम सुरु गरेको पुस्तकालयका अध्यक्ष बलराम यादवले बताए ।

पुस्तकालयमा नेपालगन्ज उपमहानगरपालिकासँग मिलेर कात्तिक २ र ३ गते नेपाल भारतमैत्री कवि सम्मेलन गर्ने निर्णय पनि कार्यसमितिले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मंगलबार