कोहलपुर र राप्तीसोनारीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु



बाँके ।

बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिकामा करेन्ट र कोहलपुर नगरपालिकामा नहरमा डुबेर उनीहरुको मृत्यु भएको हो । राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगन्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ७३ वर्षीय बुद्धीमान लामा रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

लामालाई शनिबार साँझ पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । यस्तै सिक्टा सिँचाइ आयोजनाको नहरमा एक बालकको शव फेला परेको छ ।  कोहलपुर– ८ का ११ वर्षीय आकाश गिरीको शव आइतबार आयोजनाको नहरमा फेला परेको हो ।

शनिबारदेखि हराइरहेका उनको शव खोजी गर्दा जाँदा आयोजनाको नहरमा भेटिएको थियो । पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ३ गते सोमबार